काठमाडौं,०२ साउन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विस्तारसँगै अमेरिकामा निर्माण भइरहेका विशाल डेटा सेन्टरहरूविरुद्ध जनस्तरको विरोध बढ्दै गएको छ। प्रविधि कम्पनीहरूले एआई प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार विस्तार गर्दै जाँदा स्थानीय समुदायहरूले पानी, बिजुली, कृषि भूमि र वातावरणमा पर्ने असरलाई लिएर आपत्ति जनाएका छन्।
अमेरिकाका युटाह, मिसौरी, जर्जिया, ओहायो, इन्डियाना, ओरेगनलगायत दर्जनौँ राज्यमा डेटा सेन्टर निर्माणविरुद्ध विरोध प्रदर्शन भइरहेका छन्। स्थानीय समूहहरूले जुलाई १८ मा देशव्यापी विरोध कार्यक्रमसमेत आह्वान गरेका छन्।
विरोधको मुख्य कारण डेटा सेन्टरले गर्ने अत्यधिक ऊर्जा खपत र पानीको प्रयोग रहेको स्थानीय बासिन्दाहरू बताउँछन्। उनीहरूको भनाइमा ठूला डेटा सेन्टर सञ्चालनका लागि आवश्यक बिजुलीका कारण सर्वसाधारणको विद्युत् महसुल बढ्न सक्छ भने सर्भर चिसो राख्न प्रयोग हुने ठूलो मात्राको पानीले स्थानीय स्रोतमा दबाब पर्न सक्छ।
फोर्ब्सले उल्लेख गरेको ग्यालप सर्वेक्षणअनुसार करिब ७१ प्रतिशत अमेरिकीहरू आफ्नो समुदाय नजिक डेटा सेन्टर निर्माणको विपक्षमा देखिएका छन्। सर्वेक्षणमा स्थानीय स्तरमा डेटा सेन्टरप्रतिको विरोध कतिपय अवस्थामा आणविक ऊर्जा केन्द्रप्रतिको विरोधभन्दा पनि बढी देखिएको उल्लेख गरिएको छ।
युटाहको बक्स एल्डर काउन्टीमा प्रस्तावित ‘स्ट्राटस प्रोजेक्ट’ विरुद्ध स्थानीयले ठूलो विरोध गरिरहेका छन्। करिब ४० हजार एकड क्षेत्रमा फैलिने भनिएको यो डेटा सेन्टर तथा ऊर्जा क्याम्पस परियोजनालाई लिएर स्थानीयले वातावरणीय असर र स्रोतको प्रयोगबारे प्रश्न उठाएका छन्।
सार्वजनिक सुनुवाइका क्रममा सयौँ स्थानीय बासिन्दाले परियोजनाको विरोध गरेका थिए। विरोध चर्किएपछि पनि परियोजना स्वीकृत गरिएको भन्दै स्थानीय समूहहरूले असन्तुष्टि जनाएका छन्। मिसौरीको फेस्टस र जेफरसन काउन्टीमा ६ अर्ब अमेरिकी डलर लगानीको डेटा सेन्टर परियोजना स्वीकृत भएपछि स्थानीय असन्तुष्टि राजनीतिक विवादमा समेत बदलिएको छ। स्थानीयको विरोधपछि नगर परिषद्का केही सदस्य निर्वाचनमा पराजित भएका थिए।
जर्जियामा मेटाको डेटा सेन्टर सञ्चालनपछि खानेपानीको गुणस्तर र रङ परिवर्तन भएको भन्दै स्थानीयले विरोध गरेका छन्। टेक्सस र एरिजोनामा पनि ऊर्जा र पानीको प्रयोगलाई लिएर प्रदर्शन भइरहेका छन्।
ओहायोमा २५ मेगावाटभन्दा बढी बिजुली खपत गर्ने डेटा सेन्टर निर्माणमा कडाइ गर्ने प्रस्तावसमेत अघि सारिएको छ। त्यहाँ ओपनएआई र माइक्रोसफ्टले डेटा सेन्टर निर्माणमा लगानी गर्ने घोषणा गरेका छन्। स्थानीय समुदायहरूले ठूला डेटा सेन्टरलाई ‘स्रोत सोस्ने राक्षस’ को संज्ञा दिन थालेका छन्। उनीहरूको आरोप छ—यी केन्द्रहरूले अत्यधिक बिजुली खपत गर्दा ऊर्जा प्रणालीमा दबाब पर्छ, पानीको प्रयोग बढ्छ र कृषि तथा आवासीय क्षेत्र प्रभावित हुन्छ।
केही स्थानमा डेटा सेन्टरबाट आउने निरन्तर आवाजले ध्वनि प्रदूषण बढाएको र आसपासका घरजग्गाको मूल्यमा समेत असर परेको स्थानीयको दाबी छ। डेटा सेन्टरको प्रभावबारे बहस अमेरिकी संसद्सम्म पुगेको छ। सिनेटर बर्नी स्यान्डर्सले डेटा सेन्टर विस्तारमा नियन्त्रण आवश्यक रहेको भन्दै पहल गरेका छन्। प्रतिनिधिसभा सदस्य अलेक्जान्ड्रिया ओकासियो–कर्टेजले समेत डेटा सेन्टरका कारण पानी स्रोतमा परेको असरबारे प्रश्न उठाएकी छन्।
उनको तर्क छ—प्रविधिको विकास आवश्यक भए पनि त्यसका लागि स्थानीय जनस्वास्थ्य, प्राकृतिक स्रोत र स्वच्छ वातावरणलाई जोखिममा पार्न नहुने।हाल करिब १४ अमेरिकी राज्यमा डेटा सेन्टर निर्माणलाई नियमन गर्ने वा प्रतिबन्ध लगाउने विषयमा कानुनी पहल भइरहेका छन्।
प्रविधि कम्पनीहरूले भने डेटा सेन्टरलाई आर्थिक विकास र भविष्यको एआई क्रान्तिको आधारका रूपमा प्रस्तुत गर्दै आएका छन्। उनीहरूको दाबी छ कि यस्ता परियोजनाले हजारौँ रोजगारी सिर्जना गर्नेछन् र स्वास्थ्य, शिक्षा तथा अनुसन्धान क्षेत्रमा ठूलो योगदान पुर्याउनेछन्।ओपनएआईका प्रमुख साम अल्टम्यानले डेटा सेन्टरहरूले भविष्यमा क्यान्सर उपचार खोज्नेदेखि शिक्षामा नयाँ परिवर्तन ल्याउन सहयोग गर्ने बताएका छन्।
तर ऊर्जा तथा वातावरण विज्ञहरू भने कम्पनीका यस्ता दाबीलाई अतिरञ्जित मान्छन्। उनीहरूका अनुसार एआई पूर्वाधार विस्तारसँगै ऊर्जा, पानी र वातावरणीय प्रभावबारे स्पष्ट नीति आवश्यक छ।
विश्लेषकहरूका अनुसार डेटा सेन्टरविरुद्धको आन्दोलन केवल वातावरणीय मुद्दा मात्र होइन, ठूला प्रविधि कम्पनीहरूको बढ्दो प्रभावप्रतिको स्थानीय असन्तुष्टिको अभिव्यक्ति पनि हो। इन्टरनेटमा प्रविधि कम्पनीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न नसक्ने समुदायहरूले आफ्नो क्षेत्रभित्र बन्ने पूर्वाधार रोक्न दबाब दिइरहेका छन्।




