काठमाडौं,०२ साउन । नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिमकार्डको सट्टा नयाँ सिम लिन सकिने प्रक्रिया थप सहज बनाएको छ। अब ग्राहकले सिम परिवर्तनका लागि आवश्यक विवरण अनलाइनमार्फत नै भर्न सक्ने भएका छन्।
नेपाल टेलिकमले आजदेखि सुरु गरेको नयाँ सेवाअन्तर्गत ग्राहकले कम्पनीको वेबसाइटमा गएर निर्देशनअनुसार रजिस्ट्रेसन गरी हराएको वा बिग्रिएको सिमकार्डको विवरण तथा आवश्यक व्यक्तिगत जानकारी उपलब्ध गराउनुपर्नेछ।
अनलाइन फाराम भरेपछि ग्राहकले आफैँ टेलिकमको काउन्टरमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत नयाँ सिमकार्ड लिन सक्नेछन्। नयाँ फिजिकल सिम वा ई–सिम लिनका लागि तोकिएको ५० रुपैयाँ शुल्क काउन्टरमै बुझाउनुपर्ने टेलिकमले जनाएको छ।
ग्राहक आफैँ उपस्थित हुन नसकेमा फाराममै प्रतिनिधिको विवरण उल्लेख गर्नुपर्नेछ। प्रतिनिधिले आफ्नो परिचय खुल्ने आधिकारिक कागजातसमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
ग्राहकको व्यक्तिगत विवरणको सुरक्षा र गोपनीयता कायम राख्न यस्तो व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार वेबसाइटमार्फत आवेदन दिएर हराएको वा बिग्रिएको सिमको सट्टा नयाँ सिम प्राप्त गर्ने सुविधा थप गरिएको हो। यो सेवाले ग्राहकलाई सिम परिवर्तन प्रक्रियामा हुने झन्झट कम गर्ने अपेक्षा गरिएको छ।




