spot_img

ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ

spot_img
spot_img

जनकपुर,०२ साउन । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा धितो राखेर करिब ४ करोड रुपैयाँ ऋण लिएको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीया रेखा साह र छोरा ३२ वर्षीय हरेराम साह रहेका छन्। उनीहरू अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काका अनुसार गोपाल साहलाई जनकपुरधामस्थित एक होटलबाट, रेखा साहलाई नगराइन नगरपालिका–जटहीस्थित सीमा क्षेत्रबाट र हरेराम साहलाई काठमाडौंँबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२ का गोविन्दकुमार साहले व्यवसाय सञ्चालनका लागि गोपाल साहसँग जग्गा दृष्टिबन्धक राखी कपाली तमसुकमार्फत ९९ लाख रुपैयाँ ऋण लिएका थिए।

गोविन्द साहले ऋणबापत दृष्टिबन्धकमा दर्ता गराएको जग्गा जग्गाधनीलाई जानकारी नै नदिई गोपाल साहसहित परिवारका तीनै जनाले बैंकमा धितो राखेर करिब ४ करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

प्रहरीले गोपाल साहको घरबाट जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक थान ल्यापटप तथा विभिन्न छाप र नक्सासमेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय