spot_img

क्यानडामाथि नयाँ कर लगाउने ट्रम्पको चेतावनी

spot_img
spot_img

काठमाडौं,०२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि नयाँ शुल्क (ट्यारिफ) लगाउन सकिने चेतावनी दिएका छन्। क्यानडाको वन व्यवस्थापन कमजोर हुँदा त्यहाँका डढेलोबाट निस्किएको धुवाँ अमेरिकासम्म फैलिएको उनको आरोप छ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत क्यानडाको कथित लापरवाहीबारे प्रधानमन्त्री मार्क कार्नीसँग छलफल गर्ने बताएका छन्। उनले क्यानडाको वन व्यवस्थापनका कारण अमेरिकाको वायु गुणस्तर प्रभावित भएको दाबी गर्दै यसलाई अस्वीकार्य बताएका छन्।

“क्यानडालाई आफ्नो जंगलको उचित व्यवस्थापन नगरेकोमा जिम्मेवार ठहर गर्नुपर्छ। यसले अमेरिकामा प्रदूषित र हानिकारक हावा फैलिरहेको छ,” ट्रम्पले लेखेका छन्। उनले यस्तो अवस्थाले अमेरिकालाई अर्बौं डलरको क्षति पुर्‍याइरहेको भन्दै त्यसको लागत क्यानडामाथि लगाइने शुल्कमा समेट्नुपर्ने बताएका छन्।

ट्रम्पको यस्तो भनाइ क्यानडामा जारी भीषण डढेलोका कारण आएको हो। पछिल्लो विवरणअनुसार क्यानडाका विभिन्न क्षेत्रमा सयौँ जंगलमा आगलागी भइरहेको छ र त्यसबाट निस्किएको धुवाँ उत्तर अमेरिकाका धेरै क्षेत्रमा फैलिएको छ।

शुक्रबारसम्म क्यानडामा करिब ८८८ वटा डढेलो सक्रिय रहेको बताइएको छ। तीमध्ये धेरै अझै नियन्त्रणमा आउन सकेका छैनन्। ओन्टारियो प्रान्तमा मात्रै १९० भन्दा बढी डढेलो लागेको जनाइएको छ।

यता, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले जलवायु परिवर्तनसँग जुध्नु क्यानडा र अमेरिका दुवैको साझा जिम्मेवारी भएको बताउँदै आएका छन्।

ट्रम्पको चेतावनीपछि क्यानडाका आपतकालीन व्यवस्थापन मन्त्रीले दुवै देश प्राकृतिक विपत्तिको सामना गर्न निरन्तर सम्पर्कमा रहेको बताएका छन्। उनले अमेरिका र क्यानडाबीच विपद् व्यवस्थापनमा लामो समयदेखिको सहकार्य रहेको उल्लेख गर्दै सन् १९८२ को अग्नि नियन्त्रण सम्झौता र २०२५ को जी–७ शिखर सम्मेलनमा भएको विपद् सहयोगसम्बन्धी सहमतिलाई स्मरण गराएका छन्।

क्यानडाको डढेलो र त्यसको धुवाँका कारण उत्पन्न वातावरणीय प्रभाव अहिले दुई देशबीच कूटनीतिक बहसको विषय बनेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय