राैतहट,०२ साउन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका निर्णयमाथि पार्टीले निरन्तर निगरानी गर्ने बताएका छन्। उनले सरकारको नियत सही भए पनि कुनै निर्णयबाट जनतालाई क्षति पुगे त्यसलाई सुधार गर्न सकिने बताए।
रौतहटमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले बालेन्द्र शाह नेतृत्वको सरकारको नियतप्रति कुनै शंका नरहेको दाबी गरे। तर, सरकारका केही निर्णय व्यवहारमा जनताको हितविपरीत देखिए त्यसलाई सच्याउने जिम्मेवारी पार्टीले लिने उनको भनाइ थियो।
“सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ। त्यसलाई सुधार गर्न सकिन्छ। तर नियतमै समस्या भयो भने सच्याउन गाह्रो हुन्छ,” लामिछानेले भने।
उनले किसानको हितका लागि ल्याइएको कुनै नीति कार्यान्वयनका क्रममा किसानकै लागि समस्या बन्न पुगे त्यसलाई परिवर्तन गर्न सकिने उदाहरण दिए। सरकारका निर्णयलाई अन्तिम र परिवर्तन गर्न नसकिने विषयका रूपमा लिन नहुने भन्दै उनले केही समय धैर्य गर्न आग्रह गरे।
“कुनै निर्णयले लाभभन्दा बढी हानि पुर्यायो भने त्यसमा परिवर्तन हुन्छ। त्यसका लागि चिन्ता गर्नुपर्दैन, केही समय दिन आवश्यक छ,” उनले भने।
लामिछानेले किसान, मजदुर, गरिब तथा विपन्न वर्गलाई असर गर्ने नीति देखिए पार्टीले त्यसमा हस्तक्षेप गर्ने बताए। सरकारका कामबाट ठूलो क्षति हुने अवस्था आए रास्वपाले आफ्नो भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।
“पार्टी आफ्नो अभिभावकत्व लिनबाट पछि हट्दैन। पार्टीले हेर्छ, आवश्यक कदम चाल्छ,” उनले भने।
उनले विगतमा विवादित ठानिएका कतिपय विषय समयक्रममा सही साबित भएका उदाहरण रहेको उल्लेख गर्दै सरकारका नीति तथा निर्णयहरू आवश्यकता अनुसार परिमार्जन हुन सक्ने बताए।
यस्तै, रास्वपा गलत दिशातर्फ जान थाले पार्टीभित्रै नेता तथा कार्यकर्ताले खबरदारी गर्नुपर्ने पनि लामिछानेले बताएका छन्।




