spot_img

मादक पदार्थ सेवन गरेका ट्रक चालकको लापरबाहीले रौतहटमा बस दुर्घटना

spot_img
spot_img

रौतहट,०२ साउन । रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुई यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्। दुर्घटनामा संलग्न ट्रक चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंँबाट धरानतर्फ गइरहेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्र.०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको हो।

ठक्करपछि बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस सडकमा नै पल्टिएको थियो। दुर्घटनामा ट्रकका सहचालक धनुषाधाम–९ का करिब ६० वर्षीय लालबहादुर तामाङ, बस चालक हेटौंडाका ४३ वर्षीय विकास पौडेलसहित आठ जना घाइते भएका छन्।

घाइते हुनेमा सुनसरीका प्रदीप खड्का, इनरुवा–२ की ५७ वर्षीया निर्मला देवी गुप्ता, मोरङ सुन्दरहरैँचा–५ का ४६ वर्षीया रितु वर्ण कार्की, ४४ वर्षीय मेघराज कार्की, इटहरीका ३२ वर्षीय सफल मगर र ५४ वर्षीया दिलमाया कार्की रहेका छन्।

घाइतेमध्ये अधिकांशको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सफल मगरको चपुरस्थित सिमान्त हाईवे अस्पतालमा उपचार भइरहेकोमा उनले आफ्नै इच्छाले अस्पताल छाडेको बताइएको छ।

दुर्घटनापछि गरिएको परीक्षणमा ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिका निवासी करिब ३५ वर्षीय लालबहादुर मगरले मादक पदार्थ सेवन गरेको पुष्टि भएको जिल्ला प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकको लापरबाही र मादक पदार्थ सेवन नै दुर्घटनाको मुख्य कारण हुन सक्ने देखिएको छ। दुर्घटनापछि केही समय अवरुद्ध भएको राजमार्गमा अहिले सवारी आवागमन सामान्य भइसकेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय