काठमाडौं,०२ साउन । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र उनकी पत्नी तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रञ्जिता श्रेष्ठबीच सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक आरोप–प्रत्यारोप सुरु भएको छ। दुवैले एकअर्काको नाम नलिए पनि लगातार सार्वजनिक गरेका स्टाटसहरूलाई एकअर्कालाई लक्षित कटाक्षका रूपमा हेरिएको छ।
विवादको सुरुआत रञ्जिता श्रेष्ठको फेसबुक स्टाटसबाट भएको देखिन्छ। उनले आफ्नै संगठनभित्र अस्थिरता सिर्जना गर्ने प्रवृत्तिमाथि व्यंग्य गर्दै, आफ्नै घरमा आगो लगाउनेले अरूको घर जोगाउने दाबी गर्नु हास्यास्पद भएको टिप्पणी गरेकी छन्। रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेटघाट गरेपछि उनले यस्तो अभिव्यक्ति दिएको चर्चा छ।
रञ्जिताले आफ्नै दलको प्रतिनिधित्व नभएको प्रदेशमा अन्य दलका सांसदसँग छलफल गर्दै सरकारको भविष्य तय गर्ने दाबी गर्नु राजनीतिक प्रभाव नभई ‘प्रभावको भ्रम’ भएको टिप्पणी पनि गरेकी छन्। उनले संस्कृत उक्ति उद्धृत गर्दै आफ्नै घरमा आगो लगाउनेले अरूको घर बचाउने दाबी गर्नु विडम्बनापूर्ण भएको उल्लेख गरेकी छन्।
रञ्जिताको स्टाटस सार्वजनिक भएको केही समयमै रेशम चौधरीले पनि फेसबुकमार्फत प्रतिउत्तर दिएको बुझिने अर्को स्टाटस सार्वजनिक गरे। उनले आफूलाई हैसियत दिलाउने व्यक्तिमाथि नै प्रहार गर्न खोज्नेहरू कहिल्यै कसैका हुन नसक्ने टिप्पणी गर्दै आफूलाई कमजोर बनाउने प्रयास भइरहेको संकेत गरेका छन्।
रेशमले आफ्नो घरमा समस्या आफूले ननिम्त्याएको दाबी गर्दै, आफैंले भित्तामा प्वाल पारेर अर्काको घर ताक्नेहरूले बहुलट्ठिपन प्रदर्शन गरिरहेको टिप्पणी गरेका छन्। साथै उनले धार्मिक व्यक्तिले सबैको भलो चाहनुपर्ने भन्दै अरूको विनाश चाहने व्यक्ति कहिल्यै सच्चा पुजारी हुन नसक्ने उल्लेख गरेका छन्।
फेसबुकमार्फत भएको यो सार्वजनिक आरोप–प्रत्यारोपले रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको राजनीतिक तथा व्यक्तिगत सम्बन्धमा बढ्दो दूरीलाई थप उजागर गरेको छ। यद्यपि दुवै नेताले आफ्नो स्टाटसमा एकअर्काको नाम भने उल्लेख गरेका छैनन्।




