spot_img

बर्दिया निकुञ्जमा सवारी ठक्करबाट एक वर्षमा ३५ वन्यजन्तुको मृत्यु

spot_img
spot_img

बर्दिया,०२ असार । बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सवारी साधनको ठक्करबाट एक वर्षमा ३५ वटा वन्यजन्तुको मृत्यु भएको छ।

निकुञ्ज कार्यालयका अनुसार गत आर्थिक वर्षमा रम्मापुर चेकपोस्टदेखि चिसापानीसम्मको सडक खण्डमा भएका सवारी दुर्घटनामा ती वन्यजन्तु मारिएका हुन्।

निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार दुर्घटनामा सबैभन्दा धेरै १८ वटा चित्तल मरेका छन्। त्यसबाहेक गाडीको ठक्करबाट पाँच वटा लंगुर, तीन वटा बाँदर, एक वटा चितुवासहित निर बिरालो, जरायो, सुन गोहोरो, रतुवा मृग, खरायो, न्याउरी मुसा, मयुर र जंगली बिरालोलगायत वन्यजन्तु मारिएका छन्।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा पनि सवारी दुर्घटनामा ३० वटा वन्यजन्तु मरेका थिए। उक्त वर्ष १८ वटा चित्तल र एउटा गैंडाको बच्चासहित ३० वन्यजन्तुको मृत्यु भएको निकुञ्जले जनाएको छ।

वन्यजन्तु संरक्षणका लागि निकुञ्ज क्षेत्रमा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरिए पनि दुर्घटना रोक्न चुनौती देखिएको छ। निकुञ्जका अधिकारीहरूका अनुसार अधिकांश दुर्घटना रातिको समयमा हुने गरेका छन्।

“राति दृश्यता कम हुने र केही चालकले लापरबाहीपूर्वक सवारी चलाउने भएकाले दुर्घटना हुने गरेको छ,” सूचना अधिकारी न्यौपानेले बताए।

निकुञ्ज क्षेत्रअन्तर्गत रम्मापुरदेखि शैनबारसम्मको १४ किलोमिटर सडक खण्डमा दुई वटा चेकपोस्टमार्फत टाइम कार्ड लागू गरिएको छ। यस्तै, अर्मेनी–चिसापानी खण्डको १४ किलोमिटर क्षेत्रमा पनि सवारी साधनको गति व्यवस्थापन गर्न टाइम कार्ड व्यवस्था गरिएको छ। तर सरकारी सवारी, मन्त्री सवार गाडी र एम्बुलेन्सजस्ता अत्यावश्यक सवारीमा भने यो व्यवस्था लागू छैन।

निकुञ्जका पूर्ववार्डेन रमेशकुमार थापाले अर्मेनी–चिसापानी सडक खण्ड घना जंगल क्षेत्र भएकाले यहाँ वन्यजन्तुको आवतजावत धेरै हुने बताए। उनले वन्यजन्तु जोगाउन उक्त क्षेत्रमा अण्डरपास वा ओभरपास संरचना निर्माण आवश्यक रहेको बताए।

“घना जंगल क्षेत्र भएकाले वन्यजन्तु सडक पार गर्ने क्रममा सवारीसँग ठोक्किने गरेका छन्। यसको दीर्घकालीन समाधानका लागि अण्डरओभरपास निर्माण आवश्यक छ,” उनले भने।

बर्दिया राष्ट्रिय निकुञ्जमा यसअघि पनि सवारी दुर्घटनामा महत्वपूर्ण वन्यजन्तुको मृत्यु भएको छ। करिब १० वर्षअघि महेन्द्र राजमार्गअन्तर्गत कुँवाभार क्षेत्रमा बसको ठक्करबाट वयस्क पाटे बाघ मरेको थियो।

पछिल्लो गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा करिब १२५ वटा बाघ, ३६ वटा गैंडा र करिब १२० वटा हात्ती रहेको अनुमान गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय