बीरगन्ज,०२ साउन । मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि थप तीन वटा नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। विद्यार्थीको आकर्षण बढ्दै गएपछि विश्वविद्यालयले व्यवस्थापन र कानुन क्षेत्रका नयाँ कार्यक्रम विस्तार गर्न लागेको हो।
हाल विश्वविद्यालयमा स्नातकोत्तर तहमा मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन (एमपीए), स्नातक तहमा बीए एलएलबी तथा ब्याचलर इन पब्लिक म्यानेजमेन्ट (बीपीएम) सञ्चालन हुँदै आएका छन्।
विश्वविद्यालयका रजिस्ट्रार विजयकुमार यादवका अनुसार शैक्षिक सत्र २०८३ देखि स्नातकोत्तर तहमा मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) तथा स्नातक तहमा ब्याचलर अफ ल (एलएलबी) र ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) को अध्ययन सुरु गरिनेछ।
उनका अनुसार तीनवटै कार्यक्रमका पाठ्यक्रम तयार भइसकेका छन् र यही शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। विश्वविद्यालयले चाँडै भर्नासम्बन्धी सूचना सार्वजनिक गर्ने जनाएको छ।
रजिस्ट्रार यादवले हाल सञ्चालनमा रहेका शैक्षिक कार्यक्रमप्रति विद्यार्थीको उत्साहजनक आकर्षण देखिएकाले थप कार्यक्रम विस्तार गरिएको बताए।
विसं २०७९ भदौ २२ गते स्थापना भएको मधेस विश्वविद्यालयले पहिलो वर्षदेखि दुई सङ्कायमार्फत पठनपाठन सुरु गरेको थियो। विश्वविद्यालयले हाल वीरगञ्जस्थित नेसनल ट्रेडिङको भवनबाट आफ्नो शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालन गर्दै आएको छ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्यले अनुसन्धान र प्रशिक्षणमा आधारित उच्च शिक्षाको विकास विश्वविद्यालयको मुख्य प्राथमिकता रहेको बताए। उनका अनुसार मधेस प्रदेशमै पहिलो ‘मधेस अनुसन्धान तथा प्रशिक्षण केन्द्र’ स्थापना गर्ने लक्ष्य विश्वविद्यालयले लिएको छ।
उनले आगामी दिनमा मेडिकल, ल्याब टेक्निसियन, फिजियोथेरापीलगायत स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। त्यसका लागि वीरगञ्जको नारायणी अस्पताल र पोखरियास्थित पोखरिया अस्पताललाई आधार बनाएर एमबीबीएस कार्यक्रम सञ्चालनको सम्भाव्यता अध्ययन गरिने तयारी भइरहेको उनले बताए।
उपकुलपति शाक्यका अनुसार भविष्यमा एमफिल, पीएचडी, फार्मेसी, विज्ञान तथा सूचना प्रविधिसम्बन्धी प्राविधिक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य पनि विश्वविद्यालयले अघि सारेको छ।
ग्रामीण क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यसहित ‘मधेस सीप स्कुल’ स्थापना गर्ने योजना पनि विश्वविद्यालयले बनाएको छ। यसमार्फत शिक्षालाई श्रम, सीप र रोजगारीसँग जोड्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको विश्वविद्यालयले जनाएको छ।




