काठमाडाै,०२ साउन । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति सरकारले ‘शून्य सहनशीलता’को नीति अपनाएको बताउँदै मातहतका कर्मचारीलाई इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।
शुक्रबार साँझ गोरखास्थित जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँगको भेटघाटमा गृहमन्त्री गुरुङले घुसखोरीमा संलग्न कर्मचारीलाई कुनै पनि हालतमा नछोडिने चेतावनी दिए। “मेरो मातहतको देशभरका कुनै पनि कर्मचारीले एक रुपैयाँ वा एक सुका मात्रै घुस खाएको थाहा पाएँ भने म आफैँ कारबाहीका लागि मैदानमा उत्रिन्छु,” उनले भने।
उनले बिचौलियामार्फत सेवा प्रवाह गर्ने, नागरिकतालगायत सार्वजनिक सेवामा घुस माग्ने वा अनियमितता गर्ने कर्मचारीविरुद्ध कडा कदम चालिने स्पष्ट पारे।
गृहमन्त्री गुरुङले अहिलेका नागरिक अधिकारप्रति सचेत रहेकाले कर्मचारीहरूले आफ्नो व्यवहार, कार्यशैली र सेवा प्रवाहमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले सुशासन कायम गर्ने उद्देश्यसहित आफू जनताबाट निर्वाचित भएर आएको उल्लेख गर्दै कर्मचारीको प्रतिष्ठा जोगाउने जिम्मेवारी सरकारको भए पनि त्यसका लागि कर्मचारी स्वयं इमानदार हुनुपर्ने बताए।
जनताको सेवा नै कर्मचारीको पहिलो दायित्व भएको उल्लेख गर्दै उनले सेवाग्राहीसँग सम्मानजनक व्यवहार गर्न आग्रह गरे। “तपाईंहरू जनताको सेवा गर्नुस्। जनतालाई पर्ने समस्या समाधान गर्ने जिम्मा मेरो हो,” उनले भने।
गृहमन्त्री गुरुङले कार्यालय सञ्चालनका क्रममा कुनै समस्या, कमजोरी वा सुधार गर्नुपर्ने विषय देखिए आफूलाई सिधै जानकारी गराउन आग्रह गर्दै सुशासनको सकारात्मक सन्देश आफ्नै गृहजिल्लाबाट सुरु गर्नुपर्नेमा जोड दिए।




