हेटौंडा,०२ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ रोएनी कोलोनीस्थित कर्रा खोलाको छेउमा पानी जमेको खाल्डोमा डुबेर १४ वर्षीय बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–१७ निवासी केशब राईका अन्दाजी १४ वर्षीय छोरा युकेश राई शनिबार दिउँसो साथीहरूसँग पौडी खेल्ने क्रममा करिब १ः१५ बजे डुबेर बेपत्ता भएका थिए।
घटनापछि स्थानीयवासी, नेपाल प्रहरी, बागमती प्रदेश विपद् व्यवस्थापन प्रहरी गुल्म हेटौंडा तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा युकेश डुबेकै स्थानबाट फेला परेका थिए।
उद्धारपछि उनलाई तत्काल हेटौंडा अस्पताल लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए।
मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीले वर्षायाममा खोलानाला, पानी जमेका खाल्डाखुल्डी तथा डुबान हुने जोखिमयुक्त स्थानमा पौडी नखेल्न, बालबालिकालाई त्यस्ता क्षेत्रमा जान नदिन तथा बाढी आएको बेला खोला, खोल्सी वा जलमग्न सडक जबर्जस्ती पार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।




