spot_img

एमबीए, एलएलबी र बीबीएसहित नयाँ कार्यक्रम ल्याउँदै मधेस विश्वविद्यालय

spot_img
spot_img

वीरगन्ज,०२ साउन । वीरगन्जस्थित मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८३ देखि थप तीन वटा नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। विद्यार्थीको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै विश्वविद्यालयले स्नातकोत्तर तहमा मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) तथा स्नातक तहमा ब्याचलर अफ ल (एलएलबी) र ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) को अध्ययन सुरु गर्ने तयारी गरेको हो।

विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवका अनुसार तीनवटै कार्यक्रमका पाठ्यक्रम तयार भइसकेका छन् र यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। छिट्टै भर्नासम्बन्धी सूचना सार्वजनिक गरिने उनले जानकारी दिए।

हाल मधेस विश्वविद्यालयमा स्नातकोत्तर तहमा जनप्रशासन (एमपीए) तथा स्नातक तहमा बीए एलएलबी र ब्याचलर अफ पब्लिक म्यानेजमेन्ट (बीपीएम) सञ्चालनमा रहेका छन्। नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालयको शैक्षिक दायरा अझ विस्तार हुने अपेक्षा गरिएको छ।

वि.सं. २०७९ भदौ २२ गते स्थापना भएको मधेस विश्वविद्यालयले वीरगञ्जस्थित नेसनल ट्रेडिङको भवनबाट आफ्नो शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालन गर्दै आएको छ। स्थापना भएको छोटो अवधिमै विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रम विस्तार गर्दै आएको छ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्यले अनुसन्धानमा आधारित गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने लक्ष्यसहित प्रदेशकै पहिलो मधेस अनुसन्धान तथा प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना रहेको बताए। साथै भविष्यमा एमबीबीएस, फिजियोथेरापी, ल्याब टेक्नोलोजी, फार्मेसी, विज्ञान, सूचना प्रविधि, एमफिल तथा पीएचडी लगायतका कार्यक्रम सञ्चालन गर्ने तयारी पनि भइरहेको उनले जानकारी दिए।

उनका अनुसार नारायणी अस्पताल, वीरगञ्ज र पोखरिया अस्पताललाई आधार बनाएर चिकित्साशास्त्रतर्फ एमबीबीएस कार्यक्रम सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने तयारी भइरहेको छ। साथै ग्रामीण क्षेत्रका युवालाई सीपमूलक उच्च शिक्षामा पहुँच बढाउन प्रदेशकै पहिलो ‘मधेस सीप स्कुल’ स्थापना गर्ने लक्ष्य पनि विश्वविद्यालयले अघि सारेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय