वीरगन्ज,०२ साउन । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो एक सातामा १२५ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले विशेष अभियान सञ्चालन गर्दै फरार प्रतिवादीको खोजी तथा पक्राउलाई तीव्र बनाएको जनाएको छ।
प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार गत असार २५ गतेदेखि साउन १ गतेसम्म सञ्चालन गरिएको अभियानमा १२५ जना फरार प्रतिवादी पक्राउ परेका हुन्।
प्रहरीका अनुसार असार २५ गते १० जना, असार २६ गते २६ जना, असार २८ गते २२ जना, असार २९ गते २८ जना, असार ३० गते १४ जना, असार ३१ गते १४ जना र साउन १ गते ११ जना प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ। धनुषा प्रहरीले अदालतका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएको छ।




