spot_img

भारी वर्षाको चेतावनी: २३ जिल्लामा राति सवारी सञ्चालन रोक, उच्च सतर्कता अपनाउन आग्रह

spot_img
spot_img

काठमाडौं,०२ साउन । शनिबार र आइतबार देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा हुने मौसम पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार ती जिल्लाहरूमा अति भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा भू–क्षयको जोखिम बढ्ने देखिएको छ। यही जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्राधिकरणले जनाएको छ। आवश्यक परे परिस्थितिअनुसार कुनै पनि बेला सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न सकिने चेतावनी पनि दिइएको छ।

रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएका जिल्लाहरूमा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन्।

प्राधिकरणले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, विशेष गरी रातिको यात्रा नगर्न र स्थानीय प्रशासन तथा मौसमसम्बन्धी आधिकारिक सूचनालाई नियमित रूपमा पछ्याउन आग्रह गरेको छ।

सम्भावित विपद्को सामना गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकहरूलाई उच्च तयारी अवस्थामा राखिएको छ। साथै, पहिरोका कारण सडक अवरुद्ध भए तत्काल खुलाउन जोखिमयुक्त राजमार्गमा डोजर, एक्साभेटर र लोडरजस्ता हेभी उपकरण पनि तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

नदी किनार तथा पहिरोको उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न र आवश्यक सतर्कता अपनाउन पनि प्राधिकरणले अनुरोध गरेको छ। विपद्सम्बन्धी सूचना वा आपत्कालीन सहयोगका लागि नागरिकहरूले ११५५, १२३४, १०० र १११४ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय