spot_img

साउन ११ मा नागढुङ्गा सुरुङमार्ग उद्घाटन, सर्वसाधारणका लागि भने तीन महिनापछि मात्र सञ्चालन

spot_img
spot_img

काठमाडौं,०२ साउन  । लामो समयदेखि प्रतिक्षामा रहेको नागढुङ्गा सुरुङमार्ग आगामी साउन ११ गते औपचारिक रूपमा उद्घाटन हुने भएको छ। निर्माण कार्य सम्पन्न भइसकेकाले अहिले सञ्चालनको अन्तिम तयारी भइरहेको आयोजनाले जनाएको छ।

पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। उद्घाटन कसले गर्ने भन्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ भने प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी रहेको जानकारी उनले दिए।

यद्यपि उद्घाटन भएकै दिनदेखि सर्वसाधारणका सबै सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्गमा पहिलो तीन महिनासम्म ‘ट्रायल ओपनिङ’ सञ्चालन गरिनेछ। यस अवधिमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइने योजना छ। परीक्षण सफल भएपछि चौथो महिनादेखि सर्वसाधारणका सबै सवारीसाधन सञ्चालनमा ल्याइनेछ। परीक्षण अवधिमा सडक शुल्क लिने वा नलिने विषयमा भने निर्णय हुन बाँकी छ।

सुरुङमार्ग निर्माणको जिम्मा लिएको जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसन ले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। अब यसको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी आयोजनाले नै सम्हाल्नेछ।

सम्झौताअनुसार ४२ महिनामा सम्पन्न हुनुपर्ने यो आयोजना विभिन्न कारणले ढिलाइ हुँदै करिब ७९ महिनापछि पूरा भएको हो। आयोजनाको कुल लागत करिब २५ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये १७ अर्ब रुपैयाँ निर्माणमा, दुई अर्ब रुपैयाँ निर्माण सामग्री तथा विनिमय दर समायोजनमा र छ अर्ब रुपैयाँ जग्गा अधिग्रहण तथा मुआब्जामा खर्च भएको आयोजनाले जनाएको छ।

आयोजनाका लागि जापान सरकारले करिब १९ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो भने जग्गा मुआब्जाको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको हो। यस क्रममा करिब ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

नागढुङ्गा सुरुङमार्गअन्तर्गत २.६८८ किलोमिटर लामो मुख्य सुरुङ र आपतकालीन उद्धारका लागि २.५५ किलोमिटर लामो छुट्टै सुरुङ निर्माण गरिएको छ। यसअघि नै मन्त्रिपरिषद्ले सवारीसाधनको प्रकारअनुसार ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म सुरुङमार्ग शुल्क निर्धारण गरिसकेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय