बीरगन्ज,०२ साउन । गहवामाई रथयात्राका अवसरमा सञ्चालन गरिएको महाभण्डारामा बचत भएका खाद्यान्न सामग्री मानव सेवा आश्रमलाई हस्तान्तरण गरिएको छ। धार्मिक कार्यक्रमबाट बचत भएको सामग्रीलाई सामाजिक सेवामा उपयोग गर्ने उद्देश्यले शनिबार आश्रमलाई सहयोग गरिएको हो।
गहवामाई तीर्थ क्षेत्र विकास समितिका अनुसार महाभण्डारामा प्रयोगपछि बाँकी रहेका आटा, चामल, तेल, चिनी, मसला तथा अन्य खाद्यान्न सामग्री आश्रममा आश्रित असहाय, अभिभावकविहीन र बेसहारा व्यक्तिहरूको भोजन व्यवस्थाका लागि उपलब्ध गराइएको हो।
समितिले धार्मिक कार्यक्रमसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै बचत सामग्रीको सदुपयोग गर्ने उद्देश्यले मानव सेवा आश्रमलाई सहयोग गरिएको जनाएको छ।
खाद्यान्न ग्रहण गर्दै मानव सेवा आश्रमका प्रतिनिधिहरूले उक्त सहयोगले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक भोजन व्यवस्थामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनीहरूले धार्मिक आस्थालाई समाजसेवासँग जोडेर उदाहरणीय कार्य गरेको भन्दै गहवामाई तीर्थ क्षेत्र विकास समितिप्रति आभार प्रकट गरेका छन्।
आयोजकले आगामी दिनमा पनि धार्मिक गतिविधिसँगै मानव सेवामुखी तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
धार्मिक आस्था, सामाजिक सहकार्य र मानवीय सेवाको भावनालाई एकसाथ अघि बढाउने उद्देश्यले गरिएको यस सहयोगले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको विश्वास छ।




