काठमाडौं,०२ साउन । जातीय छुवाछुत तथा विभेदको पूर्ण अन्त्यको माग गर्दै विभिन्न अधिकारकर्मी र अभियन्ताहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
‘जातीय छुवाछुत विरुद्धको अभियान’को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले संविधान र कानुनले छुवाछुतलाई अपराध घोषणा गरे पनि व्यवहारमा अझै विभेद कायमै रहेको भन्दै त्यसको प्रभावकारी अन्त्यका लागि राज्य गम्भीर बन्नुपर्ने माग गरेका छन्।
प्रदर्शनकारीहरूले विशेषगरी घरबहाल दिने क्रममा समेत जातीय पहिचानका आधारमा विभेद हुने गरेको गुनासो गर्दै यस्तो अमानवीय व्यवहार रोक्न कडा कानुनी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।
उनीहरूले दलित समुदायले लोकतान्त्रिक आन्दोलन र सामाजिक परिवर्तनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका खेले पनि नयाँ राजनीतिक व्यवस्थामा उनीहरूका अधिकार र सरोकारलाई अपेक्षित प्राथमिकता नदिइएको आरोप लगाए।
प्रदर्शनका क्रममा सहभागीहरूले वर्तमान सरकार तथा सत्तारूढ दलबाट प्रतिनिधित्व गर्ने दलित सांसदहरूले समेत समुदायका मुद्दा प्रभावकारी रूपमा उठाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
अभियानले जातीय विभेद अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन, सामाजिक चेतनाको विस्तार तथा सबै नागरिकलाई समान सम्मान र अवसर सुनिश्चित गर्न राज्यले ठोस कदम चाल्नुपर्ने माग गरेको छ।




