spot_img

बीरगन्ज कलेजका कक्षा ११ का विद्यार्थीलाई प्रभावकारी बोल्ने कलाको प्रशिक्षण

spot_img
spot_img

बीरगन्ज,०२ साउन । बीरगन्ज कलेजले कक्षा ११ मा अध्ययनरत एभरेष्ट सदनका विद्यार्थीहरूका लागि सार्वजनिक मञ्चमा प्रभावकारी रूपमा बोल्ने कला तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण आयोजना गरेको छ।

नयाँ भर्ना भएका विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि, नेतृत्व क्षमता विकास र व्यक्तित्व निर्माण गर्ने उद्देश्यले कलेजले तयार गरेको अतिरिक्त पाठ्यक्रमअन्तर्गत प्रशिक्षण सञ्चालन गरिएको हो।

एपेक्स म्यानेजमेन्ट कलेजको सभाकक्षमा आयोजित तालिमको उद्घाटन वीरगन्ज कलेज सञ्चालक समितिका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीले गरेका थिए।

उद्घाटन कार्यक्रममा बोल्दै डा. चौधरीले प्रतिस्पर्धात्मक युगमा सफल हुन आत्मविश्वास र प्रभावकारी सञ्चार सीप आवश्यक रहेको बताए। उनले व्यक्तित्व विकासबिना सिकाइ उपलब्धिले पूर्णता नपाउने भन्दै विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक सीपमा पनि दक्ष बनाउन यस्ता तालिम आवश्यक रहेको उल्लेख गरे।

प्रशिक्षणका क्रममा बीरगन्ज कलेजका क्याम्पस प्रमुख विनोद गुप्ताले विद्यार्थीलाई अनुशासन, धैर्यता र सिकेका कुरालाई व्यवहारमा लागू गर्ने बानी विकास गर्न सुझाव दिए। उनले व्यक्तित्व विकास र नेतृत्व क्षमताका लागि आवश्यक आधारभूत विषयवस्तु तथा अभ्यासबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख रुदल ठाकुर, सञ्चारकर्मीहरू नीरज पिठाकोटे, तुलसी भण्डारी, मनोज पटेल र प्रणय साहलगायतले विद्यार्थीलाई प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै शुभकामना व्यक्त गरे।

कलेजले कक्षा ११ का विभिन्न सेक्सनका विद्यार्थीलाई छुट्टाछुट्टै तालिम प्रदान गरिरहेको जनाएको छ। विद्यार्थी संख्या धेरै हुँदा सिकाइ प्रभावकारी नहुने भएकाले प्रत्येक सेक्सनलाई फरक–फरक दिनमा प्रशिक्षण दिइएको कलेजको भनाइ छ।

कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गरेका थिए भने स्वागत मन्तव्य सञ्चालक समिति सदस्य तथा प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीले राखेका थिए। कार्यक्रममा कलेजका फ्याकल्टी सदस्यहरू रजेश्वर प्रसाद चौधरी, दीपेश कुमार दासलगायतको उपस्थिति रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय