spot_img

तीन दलीय प्रदेश सरकारको प्रस्ताव कांग्रेसलाई अस्वीकार्य : सभापति थापा

spot_img
spot_img

ललितपुर,०३ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन ठूला दल मिलेर सरकार बनाउने प्रस्ताव कांग्रेसलाई स्वीकार्य नभएको स्पष्ट पारेका छन्। यस्तो अभ्यासले प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने र जनताले दिएको जनादेशको भावना विपरीत हुने उनको भनाइ छ।

आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै थापाले सत्ताका लागि सिद्धान्तमा सम्झौता गर्ने विगतका गल्ती कांग्रेसले अब नदोहोर्‍याउने बताए।

उनले विगतमा सत्ता प्राप्तिलाई प्राथमिकता दिँदा कांग्रेससहित पुराना राजनीतिक दलहरूले ठूलो राजनीतिक क्षति बेहोर्नुपरेको स्वीकार गर्दै अब जनादेश र लोकतान्त्रिक मूल्यलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

थापाका अनुसार चुनावअघि एउटा दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने प्रवृत्तिले राजनीतिक दलहरूको विश्वसनीयता कमजोर बनाएको छ। यसले सरकार र प्रतिपक्षको भूमिकासमेत अन्योलपूर्ण बनेको उनको भनाइ थियो।

प्रदेश सरकार गठनबारे कांग्रेसको धारणा स्पष्ट पार्दै उनले भने, “तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत भएकाले हामीले अस्वीकार गरेका छौँ। परिणाम जे भए पनि नेपाली कांग्रेस सिद्धान्तमा सम्झौता गर्दैन।”

उनले लोकतन्त्रमा सशक्त प्रतिपक्ष अपरिहार्य हुने उल्लेख गर्दै प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने कुनै पनि अभ्यास लोकतान्त्रिक प्रणालीका लागि उपयुक्त नहुने बताए। साथै, सरकारमा सहभागी हुनु मात्र कांग्रेसको उद्देश्य नभई जनताको म्यान्डेट, सिद्धान्त र लोकतान्त्रिक मूल्यको रक्षा गर्नु नै पार्टीको प्राथमिकता रहेको उनले स्पष्ट पारे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय