spot_img

लक्ष्यभन्दा ४१ प्रतिशत बढी राजस्व उठाउँदै गौर भन्सारको उल्लेखनीय उपलब्धि

spot_img
spot_img

रौतहट,०३ साउन । जिल्ला भन्सार कार्यालय गौरले आर्थिक वर्ष २०८२/८३ मा निर्धारण गरिएको लक्ष्यभन्दा ४१.१४ प्रतिशत बढी राजस्व सङ्कलन गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। कार्यालयले वार्षिक ३३ करोड २९ लाख रुपैयाँको लक्ष्यविरुद्ध ४६ करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो।

कार्यालय प्रमुख विकासकुमार रजकका अनुसार लक्ष्यभन्दा करिब १३ करोड ७० लाख रुपैयाँ बढी राजस्व उठ्नु प्रभावकारी राजस्व व्यवस्थापन, चुहावट नियन्त्रण, आयात कारोबारमा भएको वृद्धि तथा नियमित अनुगमनको प्रतिफल हो।

महिनागत रूपमा साउनदेखि असारसम्म राजस्व सङ्कलन निरन्तर बढ्दो क्रममा देखिएको कार्यालयले जनाएको छ। साउनमा २ करोड ७७ लाख रुपैयाँ सङ्कलन भएकोमा असारमा यो रकम बढेर ५ करोड ९४ लाख रुपैयाँ पुगेको थियो। पुस, वैशाख र जेठमा पनि पाँच करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको तथ्यांकले देखाउँछ।

राजस्व सङ्कलनसँगै चोरी निकासी तथा पैठारी नियन्त्रणमा पनि गौर भन्सारले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। आर्थिक वर्षभर कार्यालयको गस्ती टोलीले ११ लाख २६ हजार ६९४ रुपैयाँ बराबरका २२ वटा मुद्दा दर्ता गरेको छ।

यस्तै, सशस्त्र प्रहरी बलले ४ करोड ५ लाख १९ हजार ११० रुपैयाँ बराबरका ४८१ वटा र नेपाल प्रहरीले ५ करोड ५५ लाख १८ हजार १०६ रुपैयाँ बराबरका १५१ वटा चोरी निकासी तथा पैठारीसम्बन्धी मुद्दा दर्ता गराएको कार्यालयले जनाएको छ।

जफत गरिएका मालवस्तु तथा सवारीसाधनको लिलाम बिक्रीबाट पनि कार्यालयले अतिरिक्त राजस्व प्राप्त गरेको छ। कार्यालयका अनुसार १ करोड ६९ हजार ६७४ रुपैयाँ बराबरका मालवस्तु तथा १ करोड ३३ लाख १४ हजार ९७५ रुपैयाँ बराबरका सवारीसाधन लिलाम बिक्री गरिएको छ।

भन्सार प्रशासनले राजस्व चुहावट नियन्त्रण, सीमाक्षेत्रमा निगरानी कडा बनाउने, सुरक्षा निकायसँग प्रभावकारी समन्वय तथा सेवा प्रवाहमा सुधारका कारण लक्ष्यभन्दा उल्लेखनीय बढी राजस्व सङ्कलन गर्न सफल भएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय