काठमाडौं,०३ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संविधानको भावना र जनादेशअनुसार अघि बढ्न नसकेको आरोप लगाउँदै सरकारलाई ‘अन्योलको बन्दी’ भएको टिप्पणी गरेका छन्।
एक अन्तर्वार्ताका क्रममा यादवले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै चुनावपछि बितेका चार महिना मुलुकका लागि निराशाजनक रहेको बताए। उनले सरकार कुनै पनि क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको दाबी गरे।
यादवका अनुसार अर्थतन्त्र झन् कमजोर बन्दै गएको, कृषि क्षेत्र संकटमा परेको र किसानले समयमै मलखादसमेत नपाएको अवस्था सिर्जना भएको छ। शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने प्रतिबद्धता जनाएर आएको सरकारले नागरिकमाथि थप करको भार बढाएको उनको आरोप छ।
अध्यक्ष यादवले वर्तमान सरकारले संघीयता र समावेशी व्यवस्थामाथि प्रहार गरिरहेको पनि आरोप लगाए। पछिल्ला नियुक्ति तथा प्रदेशसभा खारेज गर्ने जस्ता बहसले मुलुकलाई पुनः केन्द्रीकृत शासन प्रणालीतर्फ धकेल्ने संकेत गरेको उनको भनाइ थियो।
उनले संघीय लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने प्रयास जारी रहे मुलुकमा सामाजिक, क्षेत्रीय तथा जातीय तनाव बढ्न सक्ने चेतावनीसमेत दिए।
भूराजनीतिक अवस्थाबारे टिप्पणी गर्दै यादवले नेपालप्रति अन्तर्राष्ट्रिय विश्वास कमजोर बन्दै गएको र राजनीतिक दलहरूको कमजोरीका कारण बाह्य शक्तिहरूको प्रभाव बढिरहेको बताए। उनले राष्ट्रिय हितको रक्षा गर्न राजनीतिक नेतृत्वले समयमै आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।
यद्यपि, वर्तमान सरकार तत्काल ढाल्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै उनले सरकारले जनताका समस्या समाधान गर्न असफल भए जसपा नेपाल सडक संघर्षमा उत्रिन तयार रहेको बताए। साथै, लोकतान्त्रिक एजेन्डाप्रति जनताको विश्वास अझै कायम रहेकाले आफू आशावादी रहेको पनि उनले उल्लेख गरे।




