चितवन,०३ साउन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान भएको सवारी दुर्घटनामा ३३ जना यात्रु घाइते भएका छन्। दुईवटा यात्रुवाहक बस र एउटा ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस तथा सोही दिशाबाट पछाडि आइरहेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए।
दुर्घटनापछि घाइते भएका सबै ३३ जनाको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ। घाइतेमध्ये २४ जनाको नयाँ मेडिकल कलेज, भरतपुर र ९ जनाको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा तीनवटै सवारीसाधनमा क्षति पुगेको छ। घटनापछि केही समय दुवैतर्फको यातायात अवरुद्ध भए पनि प्रहरीले दुर्घटनाग्रस्त सवारी हटाएपछि मुग्लिङ–नारायणगढ सडकखण्डमा सवारी आवागमन पुनः सञ्चालन भएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




