रौतहट,०३ साउन । भारत–नेपाल सीमामा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले रौतहट नाकाबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको ठूलो परिमाणको नेपाली मदिरा बरामद गर्दै दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
एसएसबीले दुई छुट्टाछुट्टै कारबाहीका क्रममा ८५२ बोतल (२५५.६ लिटर) कस्तुरी ब्रान्डको नेपाली मदिरा तथा तीनवटा मोटरसाइकल बरामद गरेको जनाएको छ। एउटा अपरेशनमा भने मदिरा बोकेर जाँदै गरेका भरियाहरू सुरक्षाकर्मीलाई देख्नासाथ फरार भएका थिए।
एसएसबी ७१ बटालियन मोतिहारीका अनुसार प्राप्त गोप्य सूचनाको आधारमा ‘एफ’ कम्पनी अठमुहान र मोतिहारी एक्साइज विभागको संयुक्त टोलीले सीमा स्तम्भ नम्बर ३५८–५ नजिक सैनिक रोड क्षेत्रमा छापा मार्दा ४०२ बोतल (१२०.६ लिटर) कस्तुरी मदिरा र एउटा हिरो स्प्लेन्डर मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारेको थियो। प्रारम्भिक अनुसन्धानबाट उक्त मदिरा रौतहटको मठिया क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको खुलेको छ।
यस्तै, अर्को कारबाहीमा एसएसबीको ‘सी’ कम्पनी, बीओपी नायकटोला र बिहार प्रहरीको हरपुर प्रहरी चौकीको संयुक्त टोलीले भारतको टोला चिकनी क्षेत्रमा विशेष चेकजाँचका क्रममा पश्चिम चम्पारणको करमवा गाउँका ४० वर्षीय जयप्रकाश र ३३ वर्षीय अनिल कुमारलाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट ४५० बोतल (१३५ लिटर) कस्तुरी मदिरा, बीआर–२२ बीई–४५५० नम्बरको हिरो स्प्लेन्डर र ना ९ प ६१५८ नम्बरको होन्डा शाइन मोटरसाइकल बरामद गरिएको एसएसबीले जनाएको छ। अनुसन्धानका क्रममा उक्त मदिरा नेपालबाट भारतको करमवा बजारतर्फ तस्करी भइरहेको खुलेको छ।
बरामद मदिरा, मोटरसाइकल तथा पक्राउ परेका दुवै भारतीय नागरिकलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भारतीय निकायलाई बुझाइएको छ।
एसएसबीले सीमावर्ती क्षेत्रमा मदिरा तस्करीका घटना बढ्दै गएपछि नेपाल–भारत सीमामा निगरानी तथा संयुक्त सुरक्षा अभियानलाई अझ कडा बनाइएको जनाएको छ।




