वीरगन्ज,०३ साउन । वीरगन्ज महानगरपालिका–२३ सबैठवामा चार वर्षदेखि विवादका कारण अवरुद्ध रहेको नाला (ढल निकास) कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको पहलमा पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि पानी निकास बन्द हुँदा वर्षायाममा बस्ती डुबानमा पर्ने र स्थानीयले सास्ती खेप्दै आएका थिए।
स्थानीयवासीले नालामा जडान गरिएको होम पाइप बन्द भई पानी निकास अवरुद्ध भएको गुनासो गर्दै समाधानका लागि कार्यवाहक नगरप्रमुख आलमसमक्ष निवेदन दिएका थिए। गुनासो प्राप्त भएपछि आलमले महानगरपालिकाको सरसफाइ शाखालाई तत्काल आवश्यक कारबाही गर्न निर्देशन दिएका थिए।
निर्देशनपछि सरसफाइ शाखाका प्रमुख सरफोदिन मियाँ नगर प्रहरीको टोलीसहित घटनास्थल पुगेका थिए। जेसिबी र स्विपरको प्रयोग गरी बन्द रहेको होम पाइप सफा गरिएपछि नाला पुनः सञ्चालनमा आएको महानगरपालिकाले जनाएको छ।
चार वर्षदेखि समाधान हुन नसकेको समस्या छोटो समयमै समाधान भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। नाला खुलेसँगै वर्षाको पानी सहज रूपमा बग्न थालेको र अब सामान्य वर्षामा पनि बस्ती डुबानमा पर्ने समस्या धेरै हदसम्म कम हुने अपेक्षा गरिएको छ।
स्थानीयले कार्यवाहक नगरप्रमुख आलमको सक्रियताको प्रशंसा गर्दै नेतृत्वमा इच्छाशक्ति भए वर्षौंदेखिका समस्या पनि छिट्टै समाधान गर्न सकिने उदाहरण प्रस्तुत भएको बताएका छन्। उनीहरूका अनुसार यसअघि सामान्य वर्षामै सडक र बस्ती जलमग्न हुने तथा आवतजावतमा कठिनाइ हुने गरेको थियो भने अहिले पानी निकास सहज बनेपछि वर्षायामको जोखिम कम हुने विश्वास लिइएको छ।




