काठमाडौं,०३ साउन । सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउँसोदेखि प्राविधिक समस्या देखिएको छ। समस्या देखिएपछि धेरै प्रयोगकर्ताले डेस्कटपबाट आफ्नो फेसबुक खाता खोल्न नसकेको गुनासो गरेका छन्।
प्रयोगकर्ताले लगइन गर्ने प्रयास गर्दा ‘तपाईंको खाता अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश देखिएको छ। उक्त सन्देशमा साइटमा प्राविधिक समस्या देखिएकाले केही समयपछि पुनः प्रयास गर्न आग्रह गरिएको छ।
हाल यो समस्या सबै प्रयोगकर्तामा देखिएको हो वा सीमित खातामा मात्रै परेको हो भन्ने स्पष्ट भइसकेको छैन। तर, सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा धेरै प्रयोगकर्ताले आफूले पनि उस्तै समस्या भोगिरहेको उल्लेख गर्दै स्क्रिनसट सार्वजनिक गरेका छन्।
समाचार तयार पार्दासम्म फेसबुकको मातृ कम्पनी मेटाले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। समस्याको कारण र सेवा पूर्ण रूपमा कहिलेसम्म सामान्य हुन्छ भन्नेबारे पनि कम्पनीले जानकारी सार्वजनिक गरेको छैन।
यसअघि पनि फेसबुक, इन्स्टाग्राम र मेसेन्जरलगायत मेटाका विभिन्न सेवामा बेला–बेलामा विश्वव्यापी प्राविधिक समस्या देखिँदै आएका छन्।




