काठमाडौं,०३ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्। उनी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।
भ्रमणका क्रममा प्रचण्डले इन्टरनेसनल पिपुल्स एसेम्बली (International People’s Assembly) द्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए। सम्मेलनमा उनले दक्षिण एसियाको राजनीतिक अवस्था, लोकतन्त्र, शान्ति र प्रगतिशील शक्तिहरूबीचको सहकार्यका विषयमा आफ्नो धारणा राखेका थिए।
श्रीलंका बसाइका क्रममा उनले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक दलका नेताहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए। उनले श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग द्विपक्षीय हित र राजनीतिक सहकार्यका विषयमा छलफल गरेका थिए।
त्यस्तै, श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुना (JVP) का महासचिव तिल्भिन सिल्भा तथा पार्टीको पोलिटब्युरोसँग पनि उनले छुट्टै भेटवार्ता गरेका थिए। भेटमा दुई देशका वामपन्थी शक्तिबीचको सम्बन्ध सुदृढ गर्ने, अनुभव आदान–प्रदान गर्ने तथा क्षेत्रीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा विचार आदान–प्रदान भएको जनाइएको छ।
भ्रमणका क्रममा प्रचण्डले विभिन्न देशबाट सम्मेलनमा सहभागी भएका राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील बौद्धिक व्यक्तित्वहरूसँग समेत भेटघाट गरेका थिए।
प्रचण्ड गत १५ जुलाई मा श्रीलंका प्रस्थान गरेका थिए। पाँचदिने भ्रमण सम्पन्न गरी उनी आइतबार नेपाल फर्किएका हुन्।




