काठमाडौं,०३ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सांसदका स्वकीय सचिव व्यक्तिगत वा घरायसी सहयोगीका रूपमा नभई संसदीय कामलाई प्रभावकारी बनाउने दक्ष जनशक्तिका रूपमा छनोट गर्नुपर्ने बताएका छन्।
आइतबार पार्टीको संसदीय विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगलाई मध्यनजर गर्दै स्वकीय सचिव सूचना प्रविधिमा दक्ष तथा एआईको प्रभावकारी प्रयोग गर्न सक्ने व्यक्ति हुनुपर्नेमा जोड दिए।
उनले सांसदले स्वकीय सचिव नियुक्त गर्दा व्यक्तिगत कामका लागि नभई संसदीय गतिविधि, नीति विश्लेषण, सूचना व्यवस्थापन र जनप्रतिनिधिको जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्ने राजनीतिक चेत र प्राविधिक क्षमता भएको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने बताए।
‘स्वकीय सचिव राख्नु आवश्यक र स्वाभाविक कुरा हो,’ उनले भने, ‘तर त्यसका लागि घरायसी सहयोगी होइन, आफ्नो कामलाई प्रभावकारी बनाउने व्यक्ति छनोट गर्नुपर्छ। सूचना प्रविधिमा दक्ष र एआईको प्रयोग गर्न सक्ने जनशक्ति अहिलेको आवश्यकता हो।’
पोखरेलले डिजिटल युगमा राजनीतिक प्रतिस्पर्धा केवल सडक र संसदमा मात्र सीमित नरहेको उल्लेख गर्दै भर्चुअल माध्यममा पनि प्रभावकारी उपस्थिति अपरिहार्य भएको बताए। उनका अनुसार संसदभित्र उठाइने विषय, धारणा र गतिविधिलाई डिजिटल प्लेटफर्ममार्फत व्यवस्थित रूपमा प्रस्तुत गर्न सक्ने क्षमता स्वकीय सचिवमा हुनुपर्छ।
एमाले भर्चुअल दुनियाँको प्रतिस्पर्धामा अपेक्षाअनुसार अगाडि बढ्न नसकेको स्वीकार गर्दै उनले सूचना प्रविधिको अधिकतम उपयोगमार्फत पार्टी र सांसदको गतिविधिलाई जनतामाझ प्रभावकारी ढंगले पुर्याउनुपर्ने आवश्यकता औंल्याए।
उनले सबै सांसदको रुचि, ज्ञान र दक्षता समान नहुने भएकाले विषयगत विशेषज्ञता र क्षमताका आधारमा जिम्मेवारी बाँडफाँट तथा नेतृत्व विकास गर्ने अभ्यास आवश्यक रहेको बताए। पदको मर्यादाभन्दा विषयवस्तुको ज्ञान, क्षमता र दक्षतालाई प्राथमिकता दिँदा संसदीय बहस र प्रस्तुति अझ प्रभावकारी बन्ने उनको भनाइ थियो।




