काठमाडौं,०३ साउन । आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा ७ लाख ९२ हजार १ सय ८७ जना नेपालीले श्रम स्वीकृति लिएर विदेश गएका छन्।
विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिनेमध्ये ६ लाख ९७ हजार ९६ जना पुरुष र ९५ हजार ९१ जना महिला रहेका छन्। यो संख्या आर्थिक वर्ष २०८१/८२ को तुलनामा ४७ हजार ७९ जनाले कम हो। अघिल्लो आर्थिक वर्षमा ८ लाख ३९ हजार २ सय ६६ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए।
गत वर्ष म्यानपावर कम्पनीमार्फत विदेश जाने श्रमिकको संख्यामा उल्लेखनीय गिरावट देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा म्यानपावरमार्फत ३ लाख ५९ हजार ६ सय ७५ जना विदेशिएकोमा गत आर्थिक वर्षमा यो संख्या ९० हजार ६ सय ८५ जनाले घटेर २ लाख ६८ हजार ९ सय ९० मा सीमित भएको विभागले जनाएको छ।
यस्तै, १ लाख २८ हजार ५ सय २० जना नेपालीले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएका छन् भने जी–टु–जी (G2G) संयन्त्रमार्फत ८ हजार १ सय ७ जना वैदेशिक रोजगारीमा गएका छन्।
गन्तव्य मुलुकमध्ये संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली श्रमिकको प्रमुख रोजाइ बनेको छ। पुनः श्रम स्वीकृतिसहित १ लाख ८३ हजार ५ सय ८० जना नेपाली यूएई पुगेका छन्। त्यसपछि मलेसियामा १ लाख २८ हजार ७ सय ५३, साउदी अरेबियामा १ लाख २३ हजार ७ सय १९ र कतारमा १ लाख २१ हजार २ सय ३० जना नेपाली रोजगारीका लागि गएका छन्।
त्यसैगरी कुवेतमा ४३ हजार ३ सय ६०, रोमानियामा ३३ हजार ३ सय ६० र जापानमा २२ हजार २ सय ६६ जना नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा उल्लेख छ।
विभागका अनुसार समग्र रूपमा वैदेशिक रोजगारीमा जानेको संख्या केही घटे पनि नेपाली श्रमिकका प्रमुख गन्तव्य मुलुक भने खाडी राष्ट्र, मलेसिया र केही युरोपेली देशहरू नै रहेका छन्।




