spot_img

साउनभित्र सम्पर्क नगर्ने सहकारीको दूध नकिन्ने डीडीसीको चेतावनी

spot_img
spot_img

काठमाडौं,०३ साउन । दुग्ध विकास संस्थान (डीडीसी) ले दूध संकलन प्रणालीलाई थप व्यवस्थित, प्रविधिमैत्री र दिगो बनाउने उद्देश्यले दूध आपूर्ति गर्ने सहकारी संस्था तथा निजी फार्मका लागि नयाँ व्यवस्था लागू गरेको छ।

डीडीसीले चालु आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी संस्थानसँग निरन्तर दूध कारोबार गर्न चाहने सबै दुग्ध उत्पादक सहकारी संस्था र निजी फार्मलाई साउन मसान्तभित्र अनिवार्य रूपमा सम्पर्क गरी नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

केन्द्रीय कार्यालय, लैनचौरले जारी गरेको सूचनामा तोकिएको समयसीमाभित्र सम्पर्कमा नआउने संस्था तथा फार्मसँग दूध खरिद गर्न संस्थान बाध्य नहुने स्पष्ट पारिएको छ।

सूचनामा भनिएको छ, “२०८३ साल साउन मसान्तसम्म सम्पर्कमा नआउने संस्था तथा फार्मसँग दूध कारोबार गर्न संस्थान बाध्य नहुने व्यहोरा जानकारी गराइन्छ।” यसअनुसार साउन मसान्तपछि सम्पर्कमा नआएका सहकारी वा निजी फार्मबाट डीडीसीले दूध संकलन नगर्न सक्ने व्यवस्था गरिएको छ।

डीडीसीसँग आफ्नो दूध कारोबार निरन्तर कायम राख्न चाहने उत्पादकहरूले आफूलाई पायक पर्ने डीडीसीका आयोजना कार्यालय वा चिस्यान केन्द्र (चिलिङ सेन्टर) मा पुगेर आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने संस्थानले जनाएको छ।

करिब ५७ वर्षदेखि दुग्ध क्षेत्रमा सेवा दिँदै आएको डीडीसीले देशभरका किसान, दुग्ध सहकारी संस्था र निजी फार्मबाट दूध संकलन गर्दै आएको छ। संस्थानका अनुसार नयाँ व्यवस्थाले दूध संकलन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय