काठमाडौं,०३ साउन । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप सङ्कलन उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा निक्षेप १०.३ प्रतिशतले वृद्धि हुँदै ८० खर्ब १२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ११ महिनाको अवधिमा मात्रै बैंकिङ प्रणालीमा ७ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ नयाँ निक्षेप थपिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप वृद्धि दर ८ प्रतिशत मात्र रहेकाले यस वर्षको सुधारले बैंकिङ प्रणालीमा तरलताको अवस्था थप सहज बन्दै गएको संकेत गरेको छ।
जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार कुल निक्षेपमध्ये बचत निक्षेपको हिस्सा ४६.६ प्रतिशत, मुद्दती निक्षेप ३७.३ प्रतिशत र चल्ती निक्षेप ६.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा बचत निक्षेप ३६.२ प्रतिशत, मुद्दती निक्षेप ५०.२ प्रतिशत र चल्ती निक्षेप ५.७ प्रतिशत रहेको थियो। यसले बचत निक्षेपतर्फ ग्राहकको आकर्षण बढेको देखाएको छ।
त्यसैगरी कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३३.७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३५.५ प्रतिशत थियो।
राष्ट्र बैंकका अनुसार वार्षिक आधारमा हेर्दा २०८३ जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १५ प्रतिशतले वृद्धि भएको छ। निक्षेपमा आएको यो वृद्धिले बैंकहरूको स्रोत परिचालन क्षमता बलियो बनाएको तथा आगामी दिनमा कर्जा प्रवाहका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न थप सहज हुने अपेक्षा गरिएको छ।




