spot_img

डेढ घण्टापछि सुचारु भयो फेसबुक र इन्स्टाग्राम

spot_img
spot_img

काठमाडौं,०३ साउन । करिब डेढ घण्टासम्म अवरुद्ध बनेका मेटाका सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन्। नेपालमा आइतबार दिउँसो करिब १:३० बजेदेखि देखिएको समस्या ३ बजेतिर समाधान भएपछि दुवै सेवा सामान्य रूपमा चल्न थालेका हुन्।

अवरोधका क्रममा विशेषगरी डेस्कटप संस्करणबाट फेसबुक लगइन गर्न खोज्ने प्रयोगकर्ताले ‘खाता अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश देखिएको गुनासो गरेका थिए। यद्यपि केही प्रयोगकर्ताले मोबाइल एपमार्फत भने फेसबुक आंशिक रूपमा प्रयोग गर्न सकेको बताएका थिए।

समस्या सुरुमा अमेरिकामा देखिए पनि केही समयमै विश्वका विभिन्न मुलुकका प्रयोगकर्तामा फैलिएको थियो। अनलाइन सेवा निगरानी गर्ने डाउनडिटेक्टरका अनुसार हजारौं प्रयोगकर्ताले एकै समयमा समस्या भएको रिपोर्ट गरेका थिए।

डाउनडिटेक्टरको विवरणअनुसार सबैभन्दा बढी ६३ प्रतिशत समस्या वेबसाइट (डेस्कटप ब्राउजर) मा देखिएको थियो। त्यस्तै २० प्रतिशत समस्या मोबाइल उपकरण र १० प्रतिशत समस्या एपसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ। अधिकांश प्रयोगकर्ताले मोबाइलमा सेवा सामान्य रहे पनि डेस्कटपबाट फेसबुक प्रयोग गर्न नसकेको बताएका थिए।

यद्यपि सेवा पुनः सञ्चालनमा आइसके पनि मेटाले अवरोधको कारणबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

यसअघि सन् २०२१ मा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टासम्म विश्वभर अवरुद्ध भएका थिए। त्यतिबेला मेटाले नेटवर्क पूर्वाधारमा गरिएको कन्फिगरेसन परिवर्तनका कारण समस्या आएको जनाएको थियो। त्यसयता पनि मेटाका विभिन्न प्लेटफर्ममा समय–समयमा प्राविधिक समस्या देखिँदै आएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय