काठमाडौं,०३ साउन । सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका सबै लाभग्राहीले आगामी असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्नुपर्ने भएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको हो।
मन्त्रालयका अनुसार सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९९(९) अनुसार सबै लाभग्राहीले परिचयपत्र नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले वृद्धभत्ता, एकल महिला, अपांगता, दलित बालबालिका तथा अन्य सामाजिक सुरक्षा भत्ता लिने सबै लाभग्राहीलाई समेट्नेछ।
परिचयपत्र नवीकरणका लागि लाभग्राही स्वयं सम्बन्धित वडा कार्यालयमा उपस्थित भई जैविक (बायोमेट्रिक) पहिचानका आधारमा प्रक्रिया पूरा गर्नुपर्नेछ। स्थायी ठेगानाभन्दा फरक स्थानमा अस्थायी रूपमा बसोबास गरिरहेका लाभग्राहीले आफू बसोबास गरिरहेको स्थानीय तहको वडा कार्यालयबाट पनि नवीकरण गराउन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नवीकरण प्रक्रिया राष्ट्रिय परिचय नम्बरका आधारमा जैविक पहिचानमार्फत गरिनेछ। तर, १६ वर्ष उमेर नपुगेका बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त व्यक्ति तथा ९० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकका हकमा लाभग्राही सूचीकरणका लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य नहुने व्यवस्था यथावत् रहनेछ।
नवीकरणको अन्तिम म्याद असोज मसान्तसम्म भएकाले अन्तिम समयमा हुने भीडभाडबाट बच्न समयमै वडा कार्यालयमा पुगेर प्रक्रिया पूरा गर्न मन्त्रालयले सबै लाभग्राहीलाई आग्रह गरेको छ। साथै, नवीकरण कार्यलाई व्यवस्थित र सहज बनाउन स्थानीय तहलाई आवश्यक तयारी गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।




