spot_img

नारायणगढ–मुग्लिन सडकमा ओभरटेक बढ्दा दुर्घटना र जामको जोखिम

spot_img
spot_img

काठमाडौं,०३ साउन । वर्षायाममा नारायणगढ–मुग्लिन सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना र लामो सवारीजाम निम्त्याउन थालेपछि चितवन प्रशासनले ट्राफिक नियम कार्यान्वयनमा कडाइ गर्ने भएको छ।

आइतबार बिहान मुग्लिनतर्फ गइरहेको यात्रुवाहक बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा करिब ३० जना घाइते भएका थिए। दुर्घटनापछि केही समय सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारीको लामो लाइन लागेको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पछिल्लो समय नारायणगढ–मुग्लिन सडकमा हुने अधिकांश दुर्घटनाको प्रमुख कारण असुरक्षित ओभरटेक बन्दै गएको छ। उनले ओभरटेकका कारण दुर्घटनाको जोखिम मात्रै नभई घण्टौंसम्म सवारीजाम हुने, एम्बुलेन्सजस्ता अत्यावश्यक सवारीसाधनको आवागमन प्रभावित हुने तथा उद्धार कार्यमा समेत ढिलाइ हुने गरेको बताए।

उनका अनुसार आइतबार बिहान भएको दुर्घटनामा पनि सवारीजामका कारण घाइतेको उद्धारमा अपेक्षाकृत कठिनाइ भएको थियो।

बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले शनिबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवन क्षेत्रमा पर्ने पृथ्वी राजमार्गमा सवारी सञ्चालन अस्थायी रूपमा रोकेको थियो। बिहान ५:३० बजे सडक सञ्चालनमा आएलगत्तै चालकहरूले गन्तव्य छिट्टै पुग्ने हतारमा ओभरटेक गर्दा दुर्घटना भएको प्रशासनको निष्कर्ष छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक नियमको पूर्ण पालना गर्न सके दुर्घटना र सवारीजाम दुवै उल्लेखनीय रूपमा घटाउन सकिने बताए। उनका अनुसार लेन अनुशासन कायम गर्नु, सुरक्षित दूरी राख्नु र अनावश्यक ओभरटेक नगर्नु नै सुरक्षित यात्राको आधार हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा बाढी–पहिरोको जोखिम उच्च रहने भएकाले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउनु सुरक्षा उपाय भएको स्पष्ट पारे। उनले सडक खुलेपछि चालकलाई आफ्नै लेनमा सवारी चलाउन, अनावश्यक ओभरटेक नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे।

उनले सुरक्षित र सहज यातायात व्यवस्थापनका लागि प्रशासन, चालक र यात्रु सबैको समान जिम्मेवारी रहेको उल्लेख गर्दै ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय