काठमाडौं,०३ साउन । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डा क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
आइतबार दिउँसो गरिएको विशेष अपरेसनमा पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–९ पागादोबाटोका ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट स्थायी घर भई हाल चन्द्रागिरी–४ नैकाप बस्दै आएकी २४ वर्षीया सुमित्रा राई रहेका छन्।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोलाई अनिल देउला लागुऔषध कारोबारमा संलग्न रहेको विशेष सूचना प्राप्त भएपछि टोली परिचालन गरिएको थियो। सोही क्रममा दुवै जनालाई नियन्त्रणमा लिई उनीहरूको साथबाट ५० वटा बक्समा राखिएको १५ हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूले प्रयोग गरेको बा ७७ प ७८०० नम्बरको स्कुटर पनि नियन्त्रणमा लिएको छ।अनुसन्धानका क्रममा देउलाको डेरामा खानतलासी गर्दा थप ३ हजार ७७० क्याप्सुल ट्रामाडोल, १ हजार १८८ वटा डाइजापाम तथा फेनेरागन ट्याब्लेट र १५० वटा पोलेन बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, डेराबाट एक लाख ३९ हजार १६५ रुपैयाँ नगद र तीन थान मोबाइल फोनसमेत बरामद गरिएको छ। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषध, नगद, स्कुटर र मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।




