काठमाडौं,०३ साउन । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भूभागमा अझै भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। लगातारको वर्षासँगै बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम बढेकाले विभागले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।
विभागका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी जिल्लाका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थान पनि वर्षाको उच्च जोखिममा रहने अनुमान गरिएको छ।
लगातारको वर्षाले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहिरो र डुबानको जोखिम निम्त्याउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन विभागले आग्रह गरेको छ। साथै, आवश्यकबाहेक जोखिमपूर्ण यात्रा नगर्न, नदी–खोलाको किनार र पहिरोको सम्भावना भएका क्षेत्रमा विशेष सावधानी अपनाउन पनि सुझाव दिइएको छ।
विभागले वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने जनाएको छ।
काठमाडौं उपत्यकामा भने आज मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। केही समय मौसम खुल्ने देखिए पनि पुनः बदली भई वर्षा हुने क्रम जारी रहने अनुमान गरिएको छ। उपत्यकाका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना रहे पनि अन्य प्रदेशको तुलनामा जोखिम अपेक्षाकृत कम रहेको विभागको भनाइ छ।
मौसम विभागले वर्षाको तीव्रतालाई पनि स्पष्ट पारेको छ। विभागका अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का, १० देखि ५० मिलिमिटर भए मध्यम, ५० देखि १०० मिलिमिटर भए भारी, १०० देखि २०० मिलिमिटर भए धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षाका रूपमा वर्गीकरण गरिन्छ।
त्यसैगरी, वर्षा हुने क्षेत्रलाई पनि प्रतिशतका आधारमा वर्गीकरण गरिन्छ। १० प्रतिशतभन्दा कम क्षेत्रमा वर्षा हुने सम्भावनालाई ‘एक–दुई स्थान’, १० देखि ३० प्रतिशतलाई ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतलाई ‘केही स्थान’, ५० देखि ८० प्रतिशतलाई ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी क्षेत्रमा वर्षाको सम्भावना भए ‘अधिकांश स्थान’ भनेर उल्लेख गरिन्छ।
विभागले सबैलाई आफ्नो क्षेत्रको मौसमसम्बन्धी पछिल्लो सूचना नियमित रूपमा हेर्न र सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन पुनः आग्रह गरेको छ।




