spot_img

सर्लाहीमा टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका युवकको चार घण्टापछि सकुशल उद्धार

spot_img
spot_img

सर्लाही,०३ साउन । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई करिब चार घण्टापछि सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएका युवक गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन हुन्। परिवारका सदस्य, नेपाल प्रहरी र टेलिकमका कर्मचारीको लामो सम्झाइबुझाइपछि उनी आइतबार बिहान करिब ९ बजे आफैं टावरबाट तल झरेका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उद्धारपछि हुसैनलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य स्वास्थ्य परीक्षण गराइएको थियो। स्वास्थ्य अवस्था सामान्य रहेपछि उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

नेपाल टेलिकम मलङ्गवा कार्यालयका प्रमुख सधुघनकुमार यादवका अनुसार बिहान करिब ५ बजे दुई जना युवकले आफ्नो साथी टावरमा चढेको जानकारी दिएपछि मात्रै घटनाबारे थाहा भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सर्लाही क्याम्पस मलङ्गवामा स्नातक तहमा अध्ययनरत हुसैन गाउँकै एक युवतीसँग विवाह गराइदिनुपर्ने माग राख्दै टावरमा चढेका थिए। उनले आफूले विवाह गर्न चाहेको युवतीलाई घटनास्थलमा बोलाउनुपर्ने अडान लिएका कारण सुरुवाती प्रयास सफल हुन सकेको थिएन।

प्रहरी र टेलिकमका कर्मचारीले लामो समयसम्म सम्झाउँदा पनि नमानेपछि अन्तिममा उनका बुवा–आमालाई घटनास्थलमा बोलाइएको थियो। परिवारको आग्रहपछि उनी सुरक्षित रूपमा तल झरेका हुन्।

प्रहरीका अनुसार युवक बिहान उज्यालो हुनुअघि नै टावरमा चढेको हुन सक्ने अनुमान गरिएको छ। टेलिकमका सुरक्षा गार्डले पनि उनी अँध्यारोमै पर्खालतर्फबाट प्रवेश गरी टावरमा चढेकाले समयमै थाहा पाउन नसकिएको बताएका छन्।

घटनाको खबर फैलिएपछि आइतबार बिहान नेपाल टेलिकम मलङ्गवा कार्यालय परिसरमा स्थानीयवासीको ठूलो भीड लागेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय