काठमाडौं,०३ साउन । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु बनाएर स्थानीय मापन (एमएल) अनुसार भूकम्प गएको हो।
भूकम्पको धक्का रुकुम पूर्वसँगै रोल्पा, दाङ, अर्घाखाँची लगायत आसपासका जिल्लामा समेत महसुस गरिएको स्थानीयले बताएका छन्। केही स्थानमा धक्का निकै कडा महसुस भएको जनाइएको छ।
भूकम्पपछि मानवीय वा भौतिक क्षति भएकोबारे भने हालसम्म कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन। सम्बन्धित निकायले क्षतिको अवस्था बुझ्ने काम गरिरहेको जनाएको छ।




