वीरगञ्ज, साउन ३ — पर्साको जिराभवानी गाउँपालिका–१ निवासी सुनिल राय थारु एभी (विद्युतीय भ्यान) को ठक्करबाट गम्भीर घाइते भएको करिब एक महिना बितिसक्दा पनि घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया प्रभावकारी रूपमा अघि नबढेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय सिमरामाथि अनुसन्धानमा लापरवाही गरेको आरोप लगाएको छ।
पीडितका काका लक्ष्मण राय थारुले असार ७ गते बिहान करिब ६:३० बजे भएको दुर्घटनापछि पक्राउ परेका चालकलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको तथा कानुनले तोकेको समयभित्र मुद्दाको फाइल अदालतमा पेश नगरेको आरोप लगाए। घाइतेका श्रीमती कमला कुमारी थारुले अदालतमा तोकिएको म्यादभित्र मुद्दा दर्ता हुनुपर्ने भए पनि साउन ३ गतेसम्म सरकारी वकिलको कार्यालयमा फाइल नपुगेको दाबी गरिन्। उनका अनुसार प्रहरीले भने फाइल अदालतमा पेश भइसकेको जानकारी दिएको थियो।
पीडित पक्षका अनुसार असार ७ गते बिहान बाराको अमलेखगञ्ज–२ स्थित पुल नजिक हेटौंडाबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४७५४ नम्बरको ११ सिटे एभीले विपरीत दिशाबाट आएर बा ५५ प ६६७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक सुनिल राय थारु गम्भीर घाइते भएका थिए भने पछाडि सवार जिराभवानी गाउँपालिका–४ निवासी आलोक राम सामान्य घाइते भएका थिए। दुवै जना एउटै रिकन्डिसनिङ सेन्टरमा कार्यरत रहेको परिवारले जनाएको छ।
घटनापछि दुबै जनालाई एम्बुलेन्समार्फत वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचारका लागि लगिएको थियो। थप उपचारका लागि सोही दिन काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा रिफर गरिएको थियो । उचारपिछ अलाेक रामलाइ घर फर्केका थिए भने सुनिलराय थारूकाे हाल पनि उनको उपचार भइरहेको छ। परिवारका अनुसार सुनिलको स्वास्थ्य अवस्था अझै गम्भीर छ। उनको थप शल्यक्रिया गर्नुपर्ने भएकाले उपचार खर्च निरन्तर बढिरहेको छ।
घाइतेका परिवारका अनुसार हालसम्म उपचारमा करिब ११ लाख ४६ हजार रुपैयाँ खर्च भइसकेको छ। जसमध्ये सवारीधनीको तर्फबाट ६ लाख ९१ हजार रुपैयाँ र २ लाख ७० हजार रुपैयाँ अस्पतालमा बुझाइएको छ। दैनिक ज्यालादारी श्रमबाट परिवारको जीविकोपार्जन गर्दै आएका सुनिल उपचाररत भएपछि उनकी श्रीमती र दुई सन्तानको पालनपोषणमा समेत कठिनाइ उत्पन्न भएको कमला कुमारीले बताइन्।
पीडित परिवारले प्रहरीले चालक र सवारीधनीको पक्षमा काम गर्दै तीन लाख रुपैयाँमा मिलापत्र गर्न दबाब दिएको आरोप लगाएको छ। उपचारको अवस्था, शल्यक्रिया तथा खर्चसम्बन्धी विवरणमा समेत गलत सूचना प्रवाह गरिएको उनीहरूको दाबी छ।
परिवारका अनुसार दुर्घटनापछि पक्राउ परेका चालक अभिषेक लामा थिङलाई अमलेखगञ्ज प्रहरीले इलाका प्रहरी कार्यालय सिमरामा बुझाएको थियो। त्यसपछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको र आफन्तले विरोध जनाएपछि पुनः नियन्त्रणमा लिइएको उनीहरूको भनाइ छ।
पीडित पक्षले चालकलाई कानुनबमोजिम समयमै अदालतमा उपस्थित नगराइएको तथा दुर्घटनामा संलग्न सवारीसमेत छाड्ने प्रयास भएको आरोप लगाएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीले भने घटनाको अनुसन्धान कानुनी प्रक्रियाअनुसार सम्पन्न गरी मुद्दाको फाइल अदालतमा पेश गरिसकिएको बताए। अनुसन्धानमा कुनै प्रकारको लापरवाही नभएको उनको दाबी छ।
यद्यपि, पीडित परिवारले सुरुदेखि नै प्रहरीले सवारीधनीको प्रभावमा परेर चालकलाई उन्मुक्ति दिलाउने प्रयास गरेको आरोप दोहोर्याएको छ।घाइते सुनिलकी श्रीमती कमला कुमारीले भनिन्, “हामीलाई पैसा होइन, न्याय चाहिएको हो। श्रीमान्को उचित उपचार होस् र दोषीमाथि कानुनबमोजिम कारबाही होस् भन्ने हाम्रो माग हो।




