काठमाडौं,०४ साउन । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न जिल्लामा पर्ने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने चेतावनी दिएको छ। विभागले नदी किनार र खोला आसपास बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो।
विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
यस्तै झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्लाका स–साना नदी तथा खोलामा पनि आकस्मिक बाढी आउने सम्भावना रहेको विभागले जनाएको छ।
विभागका बाढीविद् बिनोद पराजुलीले नदी तटीय क्षेत्र, खोला आसपास तथा डुबानको जोखिम भएका स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई अनावश्यक आवतजावत नगर्न, नदी तर्न नखोज्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
साथै स्थानीय प्रशासन र सम्बन्धित निकायले जारी गर्ने सूचना तथा पूर्वसूचना नियमित रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।




