spot_img

मधेसमा दुर्घटनाको ग्राफ उकालो, ज्यान गुमाउनेको संख्या घट्यो

spot_img
spot_img

रौतहट,०४ साउन । मधेस प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा सवारी दुर्घटनाको संख्या उल्लेख्य रूपमा बढे पनि दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या भने घटेको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार समीक्षा अवधिमा ११ हजार ४१६ सवारी दुर्घटना हुँदा ५३४ जनाको मृत्यु भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३० जनाले कम हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा प्रदेशभर ७ हजार ४४३ दुर्घटना हुँदा ५६४ जनाको मृत्यु भएको थियो भने १२ हजार १२३ जना घाइते भएका थिए। ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम, नियम कार्यान्वयनमा कडाइ तथा निगरानी बढाएकै कारण दुर्घटना बढे पनि मृत्युदर घटाउन सफलता मिलेको निष्कर्ष निकालेको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न रहेका छन्। कार्यालयका प्रवक्ता डीएसपी नवराज न्यौपानेका अनुसार एक वर्षमा दुर्घटनामा परेका सवारीमध्ये ७ हजार ८५१ मोटरसाइकल, ९६५ पैदलयात्री, ८३६ टेम्पो, ७१६ जिप, ३३२ ट्र्याक्टर, १९३ बस, १०५ माइक्रो तथा अन्य ४३ सवारी रहेका छन्।

प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनाको प्रमुख कारण तीव्र गति, ट्राफिक नियम उल्लंघन, हेल्मेट प्रयोगमा लापरबाही, जोखिमपूर्ण ओभरटेक, अनुभवहीन चालक, मोबाइल प्रयोग गर्दै सवारी चलाउने बानी, मदिरा सेवनपछि सवारी चलाउने प्रवृत्ति, कमजोर सडक अवस्था तथा वर्षायाममा चिप्लो सडक हुन्।

समीक्षा अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १ लाख १० हजार ७५५ सवारीसाधनलाई कारबाही गरिएको छ। ती कारबाहीबाट ११ करोड १५ लाख ६५ हजार २१० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

यस्तै, यातायात व्यवस्था कार्यालयमार्फत ८४८ ओभरलोड सवारीसाधनमाथि कारबाही गरी १ करोड ५४ लाख ४९ हजार २५७ रुपैयाँ राजस्व उठाइएको छ।

जिल्लागत रूपमा पर्सामा सबैभन्दा बढी १३ हजार ७८९ सवारीसाधन कारबाहीमा परेका छन्, जहाँबाट १ करोड ६१ लाख ७१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ। सप्तरीमा सबैभन्दा कम ६ हजार ६ सवारीसाधन कारबाहीमा पर्दा ५४ लाख १४ हजार ५५१ रुपैयाँ राजस्व उठेको छ।

अन्य जिल्लामध्ये बारामा १५ हजार ७४८, महोत्तरीमा १५ हजार ९८४, सिरहामा १३ हजार ४१६, धनुषामा १२ हजार २४३, रौतहट र सर्लाहीमा समान १० हजार ९४० सवारीसाधन कारबाहीमा परेका छन्।

प्रदेश ट्राफिक प्रहरीका अनुसार दुर्घटना न्यूनीकरणका लागि वर्षभर २६ हजार ८८३ ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रममा १४ लाख २४ हजार ८४४ जना सहभागी भएका थिए। प्रहरीका अनुसार आगामी दिनमा पनि जनचेतना, प्रभावकारी निगरानी र नियमको कडाइलाई निरन्तरता दिँदै सडक सुरक्षा थप मजबुत बनाइनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय