spot_img

कोलकाता–विराटनगर कार्गो रेल सेवा सुरु, तेस्रो मुलुकबाट आयात सहज

spot_img
spot_img

विराटनगर,०४ साउन । भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक सिधै विराटनगर कस्टम यार्डसम्म कार्गो रेल आइपुगेको छ। शुक्रबार कोलकाताबाट छुटेको कच्चा पदार्थ बोकेको रेल सोमबार दिउँसो विराटनगर पुगेसँगै पूर्वी नेपालको आयात–निर्यात प्रणालीमा नयाँ अध्याय सुरु भएको मानिएको छ।

पहिलो चरणमा आएको कार्गोमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ रहेको छ।

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने सामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सार कार्यालयसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएपछि पूर्वी नेपालका उद्योगी–व्यवसायीले ढुवानी प्रक्रिया थप सहज र प्रभावकारी हुने अपेक्षा गरेका छन्।

कार्गो रेल सेवाको औपचारिक शुभारम्भ कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर)का अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर गरेका थिए। विराटनगर पुगेपछि भन्सार कार्यालयका कर्मचारी तथा उद्योगी–व्यवसायीहरूले रेलको स्वागत गरेका थिए।

यसअघि भारतको बथनाहादेखि विराटनगर कस्टम यार्डसम्म कार्गो रेल सेवा सञ्चालनको प्रयास गरिएको भए पनि सेवा नियमित हुन सकेको थिएन। २०८० जेठमा एकपटक रेल आएपछि सेवा रोकिएको थियो।

पछिल्लो समय आवश्यक नीतिगत तथा प्रक्रियागत समन्वय पूरा भएसँगै कोलकाता बन्दरगाहबाट विराटनगरसम्म नियमित रूपमा रेलमार्फत मालसामान ढुवानी गर्ने बाटो खुलेको छ। यसबाट ढुवानी लागत र समय घट्ने तथा पूर्वी नेपालको औद्योगिक र व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय