spot_img

सुकुना विद्यालयमा छात्रामाथि यौन दुर्व्यवहारको आरोप, दुई शिक्षकसहित तीन पक्राउ

spot_img
spot_img

विराटनगर,०४ साउन । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षक र एक सवारी चालकलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

पक्राउ पर्नेमा विद्यालयका शिक्षक किशोरलाल गच्छदार र अबिरल मास्के तथा विद्यालयका सवारी चालक प्रदीप भट्टराई रहेका छन्। उनीहरूलाई सोमबार बिहान नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विद्यालयभित्र तथा सामाजिक सञ्जालमार्फत छात्राहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार शिक्षक अबिरल मास्केले सामाजिक सञ्जाल म्यासेन्जरमार्फत छात्राहरूलाई भेट्न प्रस्ताव गर्ने, अश्लील प्रकृतिका सन्देश पठाउने तथा शरीरका अंग देखाउन आग्रह गर्ने गरेको आरोप छ। यस्तै, पटक–पटक अनावश्यक सन्देश पठाएर छात्राहरूलाई मानसिक रूपमा हैरानी दिएको पनि प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार केही शिक्षकले विद्यार्थीलाई परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिँदै अमर्यादित व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि विद्यार्थीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

डीएसपी मिश्रले घटनाको विस्तृत अनुसन्धान भइरहेको र अनुसन्धानका क्रममा अन्य व्यक्ति पनि संलग्न रहेको पुष्टि भए कानुनबमोजिम कारबाही गरिने बताए।
प्रहरीले घटनाबारे सामाजिक सञ्जालमा अपुष्ट वा भ्रामक सूचना नफैलाउन तथा अनुसन्धानमा सहयोग गर्न सबैसँग आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय