spot_img

लगातारको वर्षाले नौ प्रमुख राजमार्ग प्रभावित, पहिरोले मुख्य सडक अवरुद्ध

spot_img
spot_img

काठमाडौं,०४ साउन । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढी आएपछि नौवटा प्रमुख राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

कोशी प्रदेशमा इलाम–पाँचथर जोड्ने मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। यस्तै, खोटाङको दिक्तेल–भोजपुर सडकखण्ड तथा मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पनि पहिरोले यातायात अवरुद्ध बनाएको छ। भोजपुर क्षेत्रमा भने बाढीका बाबजुद मध्यपहाडी लोकमार्गमा एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा वर्षाका कारण जोखिम बढेपछि बिपी राजमार्ग र काठमाडौँ–हेटौँडा जोड्ने कान्ति लोकपथमा अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।

त्यस्तै, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र चितवनको फिस्लिङस्थित पृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्। धादिङको जवाङखोला क्षेत्रमा पृथ्वी राजमार्ग बन्द रहे पनि तिस्मारखानी क्षेत्रमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। रसुवाको पासाङल्हामु सडकखण्डमा पनि एकतर्फी रूपमा मात्रै सवारी चलिरहेका छन्।

नेपाल प्रहरीले वर्षा अझै जारी रहेकाले बाढी र पहिरोको जोखिम कायम रहेको जनाएको छ। यात्रामा निस्कनुअघि सम्बन्धित निकाय वा प्रहरीसँग सम्पर्क गरी सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय