काठमाडौं,०४ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारलाई देशको आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका सरोकारवालासँग भएको छलफलमा उनले बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ तथा प्रिया राज रेग्मीलगायतको सहभागिता रहेको थियो।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सेबोनका अध्यक्ष गोपाल भट्टले पुँजी बजारको दीर्घकालीन विकासका लागि आवश्यक नीतिगत, कानुनी तथा संरचनात्मक सुधारका विषयमा विस्तृत छलफल भएको जानकारी दिए। उनका अनुसार नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेप्से र अर्थ मन्त्रालयले समन्वयात्मक रूपमा अघि बढाउनुपर्ने सुधारका विषयमा सुझाव प्रस्तुत गरिएको थियो।
प्रधानमन्त्री शाहले पुँजी बजारलाई पुँजी परिचालनको प्रभावकारी माध्यम बनाउँदै रोजगारी सिर्जना, लगानी विस्तार र समग्र अर्थतन्त्रलाई बलियो बनाउने दिशामा सरकार गम्भीर रहेको बताएका छन्। साथै, लगानीकर्ताको मनोबल बढाउन र बजारप्रति विश्वास कायम गर्न प्रधानमन्त्री कार्यालयबाट आवश्यक सहयोग र समन्वय हुने विश्वास पनि उनले दिलाएका छन्।
छलफलमा पछिल्ला बजार उतारचढावभन्दा पनि पुँजी बजारलाई दीर्घकालीन रूपमा स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाउने उपायमा जोड दिइएको थियो। लगानीकर्ताको विश्वास पुनःस्थापना गर्ने, बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने, संस्थागत लगानीकर्ताको सहभागिता बढाउने, मार्जिन लेन्डिङलाई थप सहज बनाउने तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानी आकर्षित गर्ने विषयमा सुझाव प्रस्तुत गरिएको थियो।
यसैगरी, नेप्सेलाई प्रविधिमैत्री बनाउने, धितोपत्र बोर्डअन्तर्गतको आईपीओ प्रणालीमा सुधार गर्ने, १० कित्ते आवेदन व्यवस्थाको पुनरावलोकन गर्ने, बुक बिल्डिङ प्रक्रियालाई प्रभावकारी बनाउने, इन्ट्राडे कारोबार सञ्चालनमा ल्याउने तथा नयाँ लगानी उपकरण विकास गर्ने विषयमा पनि सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका थिए।
सहभागीहरूले प्रभावकारी नीति, पारदर्शी नियमन र आधुनिक प्रविधिको प्रयोगमार्फत पुँजी बजारलाई थप विश्वसनीय र प्रतिस्पर्धी बनाउन सके यसले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।




