spot_img

धनुषामा ट्राफिक कारबाहीबाट एक वर्षमा रु १.१४ करोड राजस्व सङ्कलन

spot_img
spot_img

जनकपुर,०४ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीबाट रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालका अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गरिएको थियो। उक्त कारबाहीबाट सरकारको राजस्व खातामा रु १ करोड १४ लाखभन्दा बढी रकम जम्मा भएको हो।

यसअघिको आर्थिक वर्ष २०८१/८२ मा भने २८ हजार ५३८ सवारीसाधन कारबाहीमा पर्दा रु दुई करोड २१ लाख १० हजार ५०० राजस्व सङ्कलन भएको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष कारबाहीमा परेका सवारीसाधन र राजस्व दुवैमा उल्लेखनीय कमी आएको देखिएको छ।

यता, धनुषा जिल्लामा गत आर्थिक वर्षमा एक हजार ३५८ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ८२ जनाले ज्यान गुमाएका छन् भने दुई हजार १९८ जना घाइते भएका छन्।

आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा एक हजार २२१ सवारी दुर्घटना हुँदा ८४ जनाको मृत्यु भएको थियो। तथ्याङ्कले दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या भने केही घटेको देखाएको छ।

प्रहरी निरीक्षक दाहालका अनुसार सडकको कमजोर अवस्था, तीव्र गति, ट्राफिक नियमको उल्लङ्घन तथा मानवीय लापरवाहीका कारण दुर्घटनाको जोखिम अझै कायम छ। तर ट्राफिक प्रहरीले सञ्चालन गर्दै आएको नियमित चेकजाँच, जनचेतनामूलक कार्यक्रम र सडक सुरक्षासम्बन्धी अभियानका कारण दुर्घटनाबाट हुने मानवीय क्षति घटाउन केही सफलता मिलेको उनले बताए।

ट्राफिक प्रहरीले आगामी दिनमा पनि नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कडाइका साथ कारबाही गर्नुका साथै सडक सुरक्षा र ट्राफिक सचेतनालाई थप प्रभावकारी बनाउने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय