काठमाडौं,०४ साउन । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु–स्मार्ट कृषि प्रणालीको विस्तार तथा कृषि क्षेत्रको दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य र विकास साझेदारको सहयोग अपरिहार्य रहेको बताएकी छन्।
नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भिक कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु–मैत्री प्रविधिमार्फत रूपान्तरण गर्ने लक्ष्य लिएको उल्लेख गरिन्। उक्त लक्ष्य हासिल गर्न चीन सरकार, चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेशन एजेन्सी (सिडका), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) तथा अन्य विकास साझेदारको सहयोग महत्वपूर्ण रहने उनको भनाइ थियो।
उनले अन्तर्राष्ट्रिय सहकार्यबाट आधुनिक कृषि पूर्वाधार विकास, उत्पादन वृद्धि, खाद्य सम्प्रभुता सुदृढीकरण तथा दिगो कृषि मूल्य शृङ्खलाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
मन्त्री चौधरीका अनुसार नेपालका कृषि क्षेत्रले न्यून उत्पादकत्व, जलवायु परिवर्तनका बढ्दो असर, प्राकृतिक विपद्, कृषिमा आश्रित युवाको वैदेशिक पलायन, आधुनिक प्रविधि तथा बजारमा सीमित पहुँचजस्ता चुनौती सामना गरिरहेको छ। साथै, अन्तर्राष्ट्रिय मान्यता प्राप्त आधुनिक परीक्षण प्रयोगशालाको अभावले नेपाली कृषि उपजको निर्यातमा समेत कठिनाइ सिर्जना भएको उनले बताइन्।
यी चुनौती समाधान गर्न सरकारले कृषि यान्त्रीकरण, आधुनिक परीक्षण प्रयोगशालाको निर्माण तथा विस्तार, नवीन प्रविधिको प्रयोग र जलवायु–स्मार्ट कृषि अभ्यासलाई उच्च प्राथमिकतामा राखेको मन्त्री चौधरीले जानकारी दिइन्। उनका अनुसार यसबाट कृषि उत्पादन वृद्धि, दिगो मूल्य शृङ्खला विकास, महिला तथा सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरण र समावेशी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ।
मन्त्री चौधरीले चीन सरकार, सिडका र एफएओको सहयोगमा सुरु भएको नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना सरकारको कृषि आधुनिकीकरण र दिगो विकाससम्बन्धी राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरिन्।
उनले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र समस्यारहित रहेको बताउँदै कृषि आधुनिकीकरण तथा गरिबी न्यूनीकरणमा चीनले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुने धारणा राखिन्। ज्ञान, प्रविधि र असल अभ्यासको आदान–प्रदानले नेपालको कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी र दिगो बनाउन महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ।




