spot_img

कर्मचारीमाथि कुटपिटको आरोप : कालिकामाई–३ का वडाध्यक्ष संजय पटेल पक्राउ

spot_img
spot_img

वीरगञ्ज,५ साउन – पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले उनलाई कालिकामाई गाउँपालिका–३ स्थित हरिहरपुरबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालय परिसरमै भएको कुटपिट घटनाको सम्बन्धमा अभद्र व्यवहार मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाउन उनलाई पक्राउ गरिएको हो।

प्रहरीले उक्त घटनामा संलग्न रहेको आशंकामा अन्य व्यक्तिहरूको पनि खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ।

गत असार २३ गते कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट र दुर्व्यवहार भएको थियो। कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको भन्दै कर्मचारीहरूले दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै आन्दोलन गरेका थिए।

घटनापछि गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै निरन्तर विरोध कार्यक्रम सञ्चालन गरेका थिए। सोही घटनाको अनुसन्धानका क्रममा प्रहरीले वडाध्यक्ष पटेललाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेका पटेलविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइ जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराइने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय