काठमाडौ,०५ साउन । बालबालिकाको मानसिक स्वास्थ्य, अनलाइन सुरक्षा र डिजिटल लतप्रतिको बढ्दो चिन्तालाई मध्यनजर गर्दै विश्वका विभिन्न देशले सामाजिक सञ्जाल प्रयोगमा उमेरको सीमा कडा बनाउने अभियान तीव्र पारेका छन्। हालसम्म करिब २० देशले यस्ता कानुनी व्यवस्था लागू गरिसकेका छन् वा कार्यान्वयनको तयारीमा छन्।
फ्रान्सको संसद्ले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमाथि अन्तिम चरणको मतदान गरिरहेको छ। फ्रान्स सरकारले उक्त कानून आगामी सेप्टेम्बरदेखि लागू गर्ने लक्ष्य लिएको छ। लागू भएमा फ्रान्स युरोपमा ‘डिजिटल कानुनी उमेर’ निर्धारण गर्ने पहिलो देश बन्नेछ।
यसअघि अस्ट्रेलियाले २०२५ डिसेम्बरदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू गरिसकेको छ। इन्डोनेसिया, मलेसिया, टर्की र संयुक्त अरब इमिरेट्सले पनि यस्तै नीति अपनाएका छन्। चीनले भने सन् २०१९ देखि नै नाबालिगहरूको इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोगमा क्रमिक नियन्त्रण गर्दै आएको छ।
ब्राजिलले १६ वर्षमुनिका प्रयोगकर्ताको सामाजिक सञ्जाल खाता अभिभावकसँग अनिवार्य रूपमा जोड्ने तथा उमेर प्रमाणीकरण गर्ने कानुनी व्यवस्था अघि बढाएको छ।
युरोपमा पनि बालबालिकाको डिजिटल पहुँच सीमित गर्ने बहस तीव्र बन्दै गएको छ। युरोपेली आयोगले १३ वर्षमुनिका बालबालिकाका लागि पूर्ण प्रतिबन्ध तथा १३ देखि १८ वर्षसम्मका किशोरका लागि क्रमिक पहुँचको प्रस्ताव तयार गरिरहेको छ। ग्रिस, अस्ट्रिया, स्लोभेनिया, जर्मनी, स्वीडेन, डेनमार्क, आयरल्यान्ड, नर्वे र बेलायतले पनि उमेर सीमा सम्बन्धी कानून वा नीतिको तयारी गरिरहेका छन्।
यस्तै, क्यानाडाले सामाजिक सञ्जाल प्रयोगको न्यूनतम उमेर १६ वर्ष बनाउने तयारी गरिरहेको छ भने भारतमा पनि विभिन्न राज्य र केन्द्र सरकारले सामाजिक सञ्जाल कम्पनीसँग सम्भावित व्यवस्थाबारे परामर्श सुरु गरेका छन्।
पोर्चुगलले सामाजिक सञ्जाल तथा डिजिटल सेवाको स्वतन्त्र प्रयोगका लागि न्यूनतम उमेर १६ वर्ष कायम गर्ने विधेयकमाथि विचार गरिरहेको छ। स्पेनले सामाजिक सञ्जालमा दर्ताको न्यूनतम उमेर १४ बाट १६ वर्ष पुर्याउने प्रस्ताव अघि सारेको छ भने इटालीमा पनि १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने कानूनमाथि छलफल भइरहेको छ।




