जनकपुरधाम,०५ साउन । जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर परिसरमा मंगलबार बिहान श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङको स्वागतका लागि पुगेका पार्टीका नेता तथा कार्यकर्तामाथि अवरोध भएपछि केहीबेर तनावको अवस्था सिर्जना भएको छ।
प्राप्त जानकारीअनुसार साम्पाङ मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेकै बेला स्वागतका लागि पुगेका उनका समर्थकलाई हिन्दु सम्राट सेनासम्बद्ध कार्यकर्ताले मन्दिर परिसरबाट लखेटेका थिए। त्यसपछि केही समय विवादको स्थिति उत्पन्न भएको बताइएको छ।
हिन्दु सम्राट सेनाले भने विगतमा साम्पाङले गाईको विषयमा दिएको अभिव्यक्तिलाई आधार बनाउँदै उनलाई जानकी मन्दिरमा प्रवेश गर्न नदिने चेतावनी दिएको जनाएको छ।
घटनापछि अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै, “गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ? जय जानकी मन्दिर !” लेखेका छन्।
यसअघि उनले अर्को स्टाटसमा जनकपुरमा विवाद भएको उल्लेख गर्दै “जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ !” भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। साथै उनले विगतका विषय र धर्मलाई लिएर विवाद सिर्जना गरिएको दाबी गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई संयमित र शान्त रहन आग्रह गरेका छन्।
श्रम संस्कृति पार्टीले मंगलबार जनकपुरमा साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा सहभागी हुन अध्यक्ष साम्पाङ जनकपुर पुगेका हुन्।




