spot_img

पोशाक उद्योगका अड्किएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

spot_img
spot_img

काठमाडौं,०५ साउन । प्रधानमन्त्री बालेन शाहले नेपाली तयारी पोशाक उद्योगले लामो समयदेखि भोग्दै आएका समस्याको समाधान गर्दै उत्पादन र निर्यात प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्योग क्षेत्रका समस्या समाधानका लागि सम्बन्धित निकायलाई प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका हुन्।

छलफलमा उद्योगको वर्तमान अवस्था, उत्पादन क्षमता वृद्धि, निर्यात विस्तार तथा उद्योग पुनरुत्थानका विषयमा विस्तृत समीक्षा गरिएको नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले जानकारी दिए।

उनका अनुसार सन् २००५ अघिको जस्तै प्रतिस्पर्धी अवस्थामा नेपाली तयारी पोशाक उद्योगलाई पुनर्जीवित गर्ने, बन्द अवस्थामा रहेका रुग्ण उद्योगहरू पुनः सञ्चालनमा ल्याउने तथा आयात प्रतिस्थापनसँगै निर्यात बढाउने विषयमा सकारात्मक छलफल भएको थियो।

प्रधानमन्त्री शाहले विभिन्न मन्त्रालयमा रोकिएका तथा प्रक्रियामा अल्झिएका उद्योगसम्बन्धी विषय तत्काल समन्वय गरी समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको पनि अध्यक्ष पाण्डेले बताए।

यस्तै, कपडा तथा तयारी पोशाक उद्योगको दीर्घकालीन विकासका लागि टेक्स्टाइल काउन्सिल गठन गर्ने र यस क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने सरकारको योजना रहेको प्रधानमन्त्रीले बताएका छन्।

अमेरिकातर्फ हुने तयारी पोशाक निर्यातमा प्रयोगशाला तथा परीक्षण (ल्याब टेस्ट) सम्बन्धी देखिएका अवरोध हटाउन परराष्ट्र मन्त्रालयमार्फत आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरण गर्न पनि प्रधानमन्त्री शाहले निर्देशन दिएको अध्यक्ष पाण्डेले जानकारी दिए।

प्रधानमन्त्रीले सरकार र निजी क्षेत्रबीच सहकार्यलाई थप प्रभावकारी बनाउँदै तयारी पोशाक उद्योगको पुनरुत्थान, रोजगारी सिर्जना र निर्यात अभिवृद्धिका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय